समूह नै बनाएर अपराध कर्ममा युवा : सामाजिक सञ्जालमार्फत आधा करोड ठगी


२० फाल्गुन २०८०, आईतवार
thagi

काठमाडौं । समूह नै बनाएर ठगी धन्दा चलाउँदै गरेका चार युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । २०–२४ वर्ष उमेर समूहका चार युवक मिलेर आधा करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको विष्णु गाउँपालिका–४ का २० वर्षीय सिद्धार्थकुमार सिंह, सोही ठाउँकै २१ वर्षीय आदित्यकुमार सिंह, बाराको कलैया उपमहानगरपालिका–११ का २२ वर्षीय रामसेवक राम र पर्साको वीरगञ्ज महानगरपालिका–१५ का २४ वर्षीय आकाश साह सोनार छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर आज (आइतबार) सार्वजनिक गरेको हो । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप, इमो, भाइबर, टिकटक, इन्स्टाग्राम लगायत एपहरुको प्रयोग गरी उनीहरुले ठगी गरेको भन्दै उजुरी परेको थियो । सामाजिक सञ्जालमा अकाउन्ट खोल्ने र साथी बनाई कुराकानी गर्ने, त्यसपछि विभिन्न प्रलोभन देखाएर रकम माग गर्ने तथा डिपोजिट गर्न लगाएर ठगी गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले महँगो ब्राण्डका मोबाइलहरु सस्तोमा खरिद बिक्री गर्ने बताउँदै भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्दै विश्वास दिलाएर ठगी गर्ने गरेका थिए । यसरी उनीहरुले ५ जनाबाट मात्रै ४९ लाख ५८ हजार ८ सय रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको थियो । उनीहरुले एटिएममार्फत पनि रकम भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७