नयाँ गठबन्धनमा सामेल हुने / नहुने निर्णय लिन नेकपा एसको सचिवालय बैठक बस्दै


२३ फाल्गुन २०८०, बुधबार
Samajbadi
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बुधबार) बस्दैछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे देखि सुरू हुनेछ । सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ । नयाँ गठबन्धन अघि बढाएपछि मंगलबार साँझ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शर्मा नेपाल निवास कोटेश्वरमै पुगेका थिए ।

कांग्रेससँगको गठबन्धन तोडेर एकाएक नयाँ गठबन्धन बनाएका ओली–प्रचण्ड प्रदेशमा पर्न सक्ने संकट टार्नका लागि माधवलाई फकाउने कसरतमा जुटेका छन् । ओलीले आफ्ना विश्वासपात्रहरू उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई पनि सँगै लिएर गएका थिए ।

उता, एकीकृत समाजवादीका तर्फबाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल सहभागी थिए । प्रचण्डले आफ्नो पार्टीका तर्फबाट कोही नेता लगेका थिएनन् । उनीहरूबीच दुई घण्टा लामो छलफल भएको थियो । ६ बजेर ३८ मिनेटमा सुरु भएको त्यो वार्ता ८ बजेर ३५ मिनेटसम्म चलेको थियो ।

केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामी परेका नेपाललाई पुग्ने बित्तिकै ओलीले स्वास्थ्य लाभको कामना गरे । मंगलबार साँझको यो भेटपछि भने अब नयाँ यात्रा र सहकार्यका लागि छलफलको बाटो खुलेको दुवै पक्षका नेताहरूको बुझाइ छ । ‘अब छलफलको सुरुवात भयो । दुई अध्यक्ष गम्भीर ढंगले कुरा गर्नुभयो,’ त्यही भेटमा रहेका एक नेताले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७