आफैले निम्त्याएको ‘आपत’ मा मुख्य सचिव अर्याल : एकैपल्ट भ्रष्टाचारका पाँच मुद्दाले ‘किचिंदै’


२३ फाल्गुन २०८०, बुधबार
Baikuntha aryal scaled

काठमाडौँ । नेपालीमा एउटा भनाइ छ–लोभले लाभ, लाभले विलाप । यो उखान अहिले नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालको हकमा पनि मिल्न पुगेको छ । आफूले पाइरहेको सेवा सुविधा भन्दा बढीमा रुची राख्दा अहिले मुख्य सचिव उच्च तहको पदमा रहेर सम्मानीत हुनुपर्नेमा बदनामी खेपिरहेका छन् ।

समग्र प्रशासनयन्त्रमा सुशासन र अनुशासन कायम गराउने प्रमुख जिम्मेवारी मुख्य सचिवको हुन्छ । त्यसैले निजामती प्रशासनको सर्वोच्च पदमा रहने व्यक्तिमा उच्च निष्ठा र नैतिकता जरुरी हुन्छ । तर, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल आफूले पाइरहेको सेवा सुविधामा चित्त नबुझाएर अतिरिक्त कमाइको बाटोमा लाग्दा आफू मात्र बदनाम भएका छैनन् । सिङ्गो प्रशासन संयन्त्रको शीर झुकाई दिएका छन् । जागिरे जीवनको उत्तरार्द्धको यात्रा गर्दै गदा सम्मानीत भएर निस्किनु पर्ने बेलामा आफ्नै ‘कुमति’ का कारण मुख्य सचिव अर्याल बदनामीको भारी बाकेर जीवनभर कालो दाग बोक्नुपर्ने अवस्थामा आइपुगेका छन् ।

विवादित प्रकरणको चाङमा रहेका अर्याल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको घेरा र निगरानीमा छन् । अहिले अख्तियारले मुख्य सचिव अर्यालविरुद्ध एकै पटक पाँच वटा भ्रष्टाचार मुद्दा चलाउने गरी अन्तिम गृहकार्य गरिरहेको छ । मुख्य सचिव अर्याल जोडिएका सबैजसो काण्ड उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारीमा हुँदाका छन् ।

केही प्रकरण अनुसन्धान सकिएर मुद्दा चलाउने चरणमा छन् भने केही अनुसन्धानकै क्रममा छन् । हालसम्मको अनुसन्धानले पाँच वटा मुद्दा चल्न सक्ने देखिएको छ । तर, केहीमा अनुसन्धान जारी नै रहेकाले अदालतसम्म पुग्ने मुद्दाको संख्या बढ्न वा घट्न सक्ने अख्तियार स्रोत बताउँछ । अर्यालका एक नभई, अनेक काण्ड देखिएको जानकारी दिंदै अख्तियार स्रोत भन्छ, ‘‘तत्काल पाँच वटा जति मुद्दा चल्न सक्ने देखिएको छ । सबै अनुसन्धान एकै पटक नसकिने भएकाले ठ्याक्कै यति नै भन्न अहिले नै सकिंदैन । जुन मुद्दाको अनुसन्धान सकिन्छ, क्रमशः अदालत लैजान्छौं ।’
१) टेरामक्स प्रकरण
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका लागि अवैध कल बाइपास तथा शंकास्पद कलको निगरानीसम्बन्धी प्रविधि (टेरामक्स) खरिदसम्बन्धी करिब तीन अर्ब बराबरको ठेक्कामा घोटाला भएको आशंकामा अख्तियारले छानबिन गरिरहेको छ । उक्त ठेक्का प्रक्रिया अघि बढाउँदा सूचना तथा सञ्चार मन्त्रालयका सचिव थिए, हालका मुख्य सचिव वैकुण्ठ अर्याल ।

यसमा पूर्वमन्त्रीहरू मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्कीमाथि पनि अनुसन्धान भइरहेको छ । उनीसँगै हाल संघीय मामिला सचिव रहेका तत्कालीन सहसचिव विनोदप्रकाश सिंह, तत्कालीन सचिव एवं हाल सूचना आयोगका प्रमुख आयुक्त रहेका महेन्द्रमान गुरुङ, प्राधिकरणका अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललगायत पनि यस घोटालाको छानबिनको घेरामा छन् । अख्तियारले यसमा अनुसन्धानको काम सकिसकेको छ । प्रमाण संकलन र बयान सकिइसकेकाले अभियोजनको तयारी अघि बढाएको छ ।

२) सुरक्षण मुद्रण घोटाला
सुरक्षण मुद्रणसम्बन्धी केही उपकरण खरिदसम्बन्धी घोटालामा ६९ करोड बराबरको बिगो कायम गरी अख्तियारले यसअघि नै मुद्दा दायर गरिसकेको हो । त्यसमा अर्याललाई विपक्षी बनाइएको थिएन । त्यस प्रकरणका प्रमुख अभियुक्त विकल पौडेल अकुत सम्पत्तिसम्बन्धी अनुसन्धानमा पक्राउ परेपछि अर्याल समेत जोडिएका थप प्रमाणहरू फेला परेका छन् । उनी सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक हुन् । पौडेलसँग त उनको आर्थिक लेनदेन नै भएको भेटिएको छ। त्यसैले सुरक्षण मुद्रण घोटालाको दोस्रो मुद्दामा अर्यालमाथि पनि अभियोग लाग्ने भएको छ ।

३) नेपाल टेलिकमको बिलिङ प्रणाली
नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी घोटालाको अग्रभागमा मुख्य सचिव वैकुण्ठ अर्याल नै देखिएका छन् । टेलिकमले २०७९ मंसिरमा चिनियाँ कम्पनी एसिया इन्फोसँग बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार सम्झौता (एएमसी) गरेको थियो । अर्याल टेलिकमको सञ्चालक समिति अध्यक्षका हैसियतले उक्त निर्णयमा जोडिएका हुन् ।

सो कम्पनीले वार्षिक करिब ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब रुपैयाँ बढी भुक्तानी पाउने सम्झौतामा उल्लेख छ । उक्त विवादास्पद ठेक्कामा अख्तियारले अनुसन्धान गरिरहेको छ । विवादित छविका सुनील पौडेल टेलिकमको प्रबन्ध निर्देशक बनेपछि यस ठेक्काको तारतम्य मिलाइएको थियो । चिनियाँ कम्पनीको सेवामा कैफियत देखिइरहेकै बेला बिन ाप्रतिस्पर्धा उसैलाई लामो अवधिको ठेक्का दिएपछि यो प्रकरण चर्चामा आएको थियो ।
४) घुस लेनदेन
मुख्य सचिव अर्यालले विकल पौडेलसँग शंकास्पद आर्थिक कारोबार गरेका प्रमाण भेटिएपछि यसले अरू धेरै भ्रष्टाचारको सुराख मिलेको छ । त्यसैले अख्तियारले अर्यालका पालामा भएका विभिन्न विवादास्पद निर्णय र त्यस बखत भएका कारोबारहरूको विवरण संकलन गरी अध्ययन गरिरहेको छ । केही प्रकरणमा उनीमाथि घुस लेनदेनको मुद्दा चल्न सक्ने आधार अख्तियारले फेला पारेको अनुसन्धानमा खटिएका अधिकारीले जानकारी दिएका छन् ।
५) नियुक्तिमा सेटिङ
सूचना प्रविधि क्षेत्रका विवादास्पद पात्रहरू सुनील पौडेल र विकल पौडेलसँग मिलेर विभिन्न खरिद एवं ठेक्कामा मात्र होइन, नियुक्तिमा पनि सेटिङ मिलाएको अख्तियारको अनुसन्धानले देखाएको छ । त्यसबाट उनले कहाँकहाँ केकस्ता गैरकानुनी लाभ लिएका छन् भनेर अख्तियारले विस्तृत अनुसन्धान गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७