सीके राउतले भने–विदेशीले धाप मार्नासाथ प्रधानमन्त्री बुर्लुक्क उफ्रिइहाल्नु हुन्छ


२४ फाल्गुन २०८०, बिहीबार
CK Raut
फाइल फोटो

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले गठबन्धन फेरबदललाई ‘भ्यागुते प्रवृत्ति’ को संज्ञा दिएका छन् । आज (बिहीबार) प्रतिनिधिसभा वैठकमा बोल्दै राउतले विदेशीले धाप मार्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्यत्र गठबन्धन गरिहाल्ने प्रवृत्ति देखाएको आरोप लगाए ।

‘यो भ्यागुते प्रवृत्ति हो, भ्यागुतालाई समातेर जोख्न सजिलो होला । अहिलेको प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नु होला ! कतिखेर विदेशीले कता धाप मार्दिन्छ, प्रधानमन्त्री बुर्लुक्क उफ्रिइहाल्नु हुन्छ । थाहै हुँदैन ।’ उनले थपे, ‘यो उफ्राइले काठमाडौंमा मात्रै परकम्प गएको छैन । यहाँ मात्रै गए त केही थिएन । सात वटै प्रदेशका सरकारहरू गल्र्यामगुर्लम ढल्छन् । अनि जनताले यातना भोग्नुपर्ने, देशले यातना, घाटा व्यहोर्नुपर्ने, उहाँले भन्नु पनि हुन्छ– म मिस्टर उथलपुथल हो । म बाँच्दासम्म यो धर्तीमा उथलपुथल भइरहन्छ । मानौं, उहाँ शेष नाग हो र धर्ती उहाँको शरीरमाथि अडिएको छ । हरेक शेष नागका लागि कृष्णको अवतार पनि हुन्छ । उहाँले हेक्का राख्नु पर्छ ।’

‘हामी प्रतिपक्षीमा रहौंला, तर हाम्रो भूमिका रचनात्मक नै रहनेछ । विश्वस्त हुनुहोस् भनेर आग्रह गर्न चाहन्छु,’ उनले भने । अहिलेको गठबन्धन सिद्धान्तको धरातलमा बनेको आफूले ठानेको तर प्रधानमन्त्रीको आजको सम्बोधनले त्यसको खण्डन गरेको उनले बताएका छन् ।

रातारात के भएछ जसले गठबन्धन नै फेर्नुपर्ने, घटक दललाई नै फेर्नुपर्ने अवस्था आयो ? मैले त गहिराइमै होला भन्ने ठानेको थिएँ । एक–दुई वटा कुर्सी नमिलेर, राष्ट्रिय सभाका भोट नआएर जस्ता प्रधानमन्त्रीको कुरा सुन्दा अत्यन्त हल्का लाग्यो । झन धेरै क्रेडिट दिउँला सोचेको थिएँ । राजनीतिका लागि सकारात्मक रूपमा लिएको थिएँ । सैद्धान्तिक धरातलमा टेकेर वाम ध्रुवीकरण हुँदैछ । सिद्धान्तका आधारमा ध्रुवीकरण हुँदैछ, देश र जनताका लागि सुखद् कुरा हो भन्ने सोचेको थिएँ । तथापि म शुभकामना दिन चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७