बसाइँसराइले रित्तिँदै गएको गाउँमा मौरी पालनमा सक्रिय पौडेल दम्पती


२५ फाल्गुन २०८०, शुक्रबार
mahuri

बागलुङ । वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गए । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ। गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन्। घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन् । सेवा सुविधाको खोजीमा गाउँले तराई झर्न थालेपछि बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवा गाउँ सुनसान बन्न थालेको छ ।

सुनसान बन्दै गएको गाउँमा स्थानीय बाबुराम पौडेल दम्पती भने व्यावसायिक मौरीपालनमा रमाइरहेका छन् । बसाइँसराइले उजाड बन्न थालेको गाउँमा व्यावसायिक बन्दै गएका पौडेल दम्पतीलाई बसाइँसराइ गर्नुभन्दा गाउँमै उद्यमी बन्नु ठीक लाग्यो । अहिले उनीहरू धेरैका लागि प्रेरणाको स्रोत बने ।

बाबुरामले तराईमा घडेरी समेत जोडेका छन् । गाउँमा जस्तो स्वच्छ हावापानी र वातावरण नहुने हुँदा बसाइँसराइ नगरेको बाबुराम बताउँछन् । उनको घरको बार्दली, कौसी, छानो र पिँढीभरि मौरीका घार छन् । आधुनिक प्रविधि अपनाएर मौरीपालनमा लागेका पौडेल दम्पतीले तरकारीसँगै सुन्तला खेती पनि गर्दै आएका छन् । बाबुराम आफैले आधुनिक मौरीको घार बनाउने हुँदा हरेक वर्ष हजारौँको खाली र मौरीसहितका घार बिक्री हुने गरेको छ । हातमा सीप र जाँगरले गर्दा सुनसान गाउँमा बाबुराम सफल उद्यमीका रूपमा चिनिन्छन् ।

बाबुरामले बारीमा दुई वटा हाइटेक टनेल बनाएर मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् । पाँच वर्षअगाडि लगाएका १०० बोट सुन्तलाले पनि अहिले उत्पादन दिन थालेका बाबुरामले बताए । मौरीपालनलाई मुख्य पेसा बनाएको भन्दै लोकल कुखुरा, दूध, घ्युका लागि भैँसीसमेत पालन गरेको उनको भनाइ छ । गाउँमा थुप्रै छिमेकी धमाधम बसाइँसराइ गरे पनि यहाँ अवसर धेरै भएकाले गाउँ छोड्न नसकेको बाबुरामले बताए । दश वर्षअगाडि साथीभाइको लहलहैमा मलेसिया पुगेर २२ महिना दुःख गरेको सुनाउँदै संघर्ष गरे घरमै पनि प्रशस्त कमाइ गर्न सकिने उनको भनाइ छ ।

घरमा बाउबाजेको पालादेखि दुई÷चार घार मौरी पाल्दै आएको बताउँदै बाबुरामले अहिले आधुनिक तरिकाले व्यावसायिक रूपमा लागिएको जानकारी दिए । “गाउँमा काठ जति पनि पाइन्छ, हातमा सीप भएकाले मौरीको घार आफै बनाउँछु । पहिले मुडे घारमा मौरी पाल्ने चलन थियो, अहिले सबै आधुनिक घारमा राखेका छौँ’, बाबुरामले भने, ‘विदेश २२ महिना बसेर आएपछि स्वदेशमै केही गरौँ भन्ने लागेर व्यावसायिक मौरीपालन शुरू गरेको हुँ । अहिले प्रशस्त आम्दानी भइरहेको छ ।’

आफूले मौरीपालन शुरू गर्दा कुनै तालिम नलिएको बताउँदै बाबुरामले व्यवसाय शुरू गरेको धेरै वर्षपछि मौरी विकास केन्द्र गोदावरीबाट तालिम लिएको जानकारी दिए । झण्डै डेढ दशकदेखि मौरीपालन गर्दै आए पनि आठ वर्षअगाडि मात्रै फर्म दर्ता गरेर व्यवसायलाई व्यवस्थित गरेको उनको भनाइ छ । पौडेलले हाल ४० घार मौरी पालेका छन् । गत वर्ष १०० घार मौरी रहेकामा केही बिक्री गरेको र २० घार बचेका उनको भनाइ छ । पोहोर साल धेरै घार मौरी अपरिचित रोगले मर्दा झन्डै पाँच लाख नोक्सानी बेहोर्नुपरेको बाबुराम बताउँछन् । पौडेल दम्पतीले मौरीपालनबाटै दुई छोरोछोरीलाई पोखरामा पढाउँदै छन् । छोरीले आइटी इन्जिनियर र छोराले कम्प्युटर विज्ञान पढिरहेका छन् ।

पौडेलकी पत्नी मायादेवी बिहान सबेरै उठेदेखि साँझसम्म मौरीको हेरचार र बारीमा रहेका सुन्तला, टनेलमा गोडमेल र पानी लगाउने काम गर्छिन् । उनीहरूले आफ्नो जग्गा कतै पनि बाँझो राखेका छैनन् । बारीमा बाँझो जमिनमा लप्सी र फलफूलका बिरुवा लगाएका छन् । जमिनलाई उपयोग गर्ने मान्यताले सबै ठाउँमा विभिन्न प्रजातिका वनस्पतिका बिरुवा लगाइएको मायादेवीले बताइन्। गत वर्ष ४० घार मौरी बेचेकामा यस वर्ष भने कम भएको उनको भनाइ छ ।

दुई सिजनमा मौरीको घारबाट मह निकाल्ने हुँदा आम्दानी पनि राम्रो हुने मायादेवीले बताइन् । उनीहरूले हरेक वर्ष दुई क्विन्टल मह बच्ने गरेका छन् । एक किलोलाई एक हजार पाँच सयदेखि दुई हजारसम्ममा बिक्री हुँदा मिहिनेतको मूल्य पर्ने गरेको उनले सुनाए । महको माग धेरै हुने भएकाले बजारको अभाव नभएको मायादेवीको अनुभव छ । यस वर्षदेखि सुन्तला उत्पादन हुन थालेपछि पहिलो पटकमा ७० हजार रुपैयाँ बढीको बिक्री भएको उनले जानकारी दिइन्। तरकारीबाट पनि बिस्तारै आम्दानी हुन थालेको भन्दै गाउँको माया र माटोप्रतिको सम्मानले गर्दा अन्त बसाइँ सर्न मनले नमान्ने उनले बताइन् ।

गाउँमा सामान्य कृषि गर्नेले राज्यबाट पाउने अनुदान सहजै प्राप्त गरिरहेका भन्दै आफूहरूले निरन्तर यही काम गर्दै आए पनि सहयोग पाउन नसकेको बाबुरामले दुखेसो पोखे । टाढाबाठाले मात्रै अनुदान पाउने तर वास्तविक किसानले नपाउने उनको भनाइ छ । “मलाई यहाँ भएको कुनै पनि बारी बाँझो राख्न मन लाग्दैन, गाउँमा हरेक दिन खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । मकै, गहुँ खेती गर्दैनौँ’, मायादेवीले भनिन्, ‘फलफूल र तरकारीखेती तथा मौरीपालनलाई निरन्तरता दिएका छौँ। मौरीले बारीबाट रस लिन्छन् । मौरी, बोटबिरुवा र माटोसँग खेल्न निकै आनन्द लाग्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७