संक्रमणकालीन न्यायको काम टुंग्याउन अमेरिकाको सहयोग रहन्छ : राजदूत थम्पसन


२७ फाल्गुन २०८०, आईतवार
thamsan and barsaman

काठमाडौं । नेपालको शान्ति प्रक्रियाका बाँकी काम र संक्रमणकालीन न्यायको विषयमा अमेरिकाले चासो राखेको छ । अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्‍याउन सहयोग आवश्यकता परे दिन तयार रहेको सन्देश दिएको छ । आज (आइतबार) नव नियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ लाई मन्त्रालयमा शिष्टाचार भेट गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुंगोमा पुग्ने विश्वास गरे ।

भेटका क्रममा राजदूत थम्पसनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गरेको मन्त्रालय स्रोतले जानकारी दियो । ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ’, राजदूत थम्पसनले भने, ‘त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।’

उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरु धेरै देशहरु पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे । कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) टुंग्याउने तयारी गरिरहेको छ । गत आइतबार समितिबाट टिआरसी विधेयक टुंग्याएर पारित गर्ने गरी बोलाइएको बैठकमा तत्कालीन कानुनमन्त्री धनराज गुरुङले टिआरसीका विवादित विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै समय मागेका थिए। विधेयकमा रहेका केही प्रावधानमाथि प्रश्न उठाएपछि कानुनमन्त्री गुरुङले त्यस विषयमा आन्तरिक छलफल गर्नुपर्ने बताएका थिए ।

एमालेले पीडितमैत्री कानुन निर्माणमा जोड दिएको थियो । सोमबार कांग्रेस–माओवादीको गठबन्धन भत्किएर एमाले नेतृत्वको नयाँ गठबन्धन बनेको छ । सत्ता समीकरणमा फेरबदल भएसँगै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्गो लगाउन गत सोमबार बिहान बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ । केहि विवादित विषयमा सहमति गरेर यहि संसद अधिवेशनबाट टीआरसी विधेयक टुंग्याउने सरकारको तयारी छ ।

यस्तै राजदूत थम्पसनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता पनि जनाए । यस्तै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना समयमै सक्ने गरी काम अघि बढोस् भन्ने चासो राखेका थिए । जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकामा राजदूत थम्पसनलाई धन्यवाद दिए । यस्तै उनले एमसीसी परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७