कान्तिपुर सहकारीका १२ सञ्चालकविरुद्ध डेढ अर्ब ठगी मुद्दा दायर


२८ फाल्गुन २०८०, सोमबार
adalat ktm1641982779

काठमाडौं । काठमाडौंको मीनभवनस्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका १२ सञ्चालकविरुद्ध ठगी मुद्दा दायर भएको छ । संस्थाका सदस्यहरूको पैसा हिनामिना गरेको अभियोगमा प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

संस्थाका ८५२ जना सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो कायम गरी सहकारी ठगीको मुद्दा दायर भएको जिल्ला प्रहरीपरिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए । एक सञ्चालक पक्राउ परेको र अरु फरार रहेको र उनीहरूलाई फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता भएको छ एसपी अधिकारीले जानकारी दिएका छन् ।

प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई पक्राउ गरी गत महिना अनुसन्धान थालेको हो । अरु ११ सञ्चालक फरार रहेको जनाइएको छ । पूर्व अध्यक्ष सिबी लामासहित सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलियालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

सहकारीलाई सहकारी विभागले गत २९ माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ । सहकारीमा सर्वसाधारणको करिब ६ अर्ब रुपैयाँ फसेको छ । थोरै बचतकर्ताले मात्र हाल प्रहरीमा जाहेरी दिएका छन् । सञ्चालकहरूले नियमविपरीत संस्थाको पैसा निजी व्यवसायमा लगाएर फिर्ता गर्न नसकेका हुन् । अस्पताल, रिसोर्ट तथा घरजग्गामा सञ्चालकले करोडौँ लगानी गरेका छन् । सो संस्थाका पूर्वअध्यक्ष सिबी लामा सञ्चालक रहेको पशुपति सहकारीले पनि सर्वसाधारणको पैसा फिर्ता गर्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७