प्रधानमन्त्री ज्यू यो जीवनको अन्तिम गल्ती नहोस् : राजेन्द्र लिङदेन

‘जुन बेला हैसियत पुग्छ, त्यो बेला गणतन्त्र पल्टाइ दिन्छौं’


३० फाल्गुन २०८०, बुधबार
rajendra lingden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तालाई आफ्नो सुरक्षा कबजका रुपमा प्रयोग गर्ने उद्देश्यले नयाँ गठबन्धन बनेको आरोप लगाएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले नयाँ गठबन्धन स्वार्थको गठजोड भएको बताए । ‘त्यो सत्ता निर्माण हुँदा गरेको ८ बुँदे, ७ बुँदेबाट पनि त्यही कुरा देखिन्छ,’ उनले भने, ‘देश, जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन ।’

‘सत्तालाई आफ्नो सुरक्षा कबजका रुपमा प्रयोग गर्ने उद्देश्यद्धारा गठबन्धन बनेको हो,’ उनले भने । अघिल्लो वर्ष छोटो समय सत्तामा सहकार्य गर्दा प्रधानमन्त्रीले चाल फेर्न लागेको थाहा पाएपछि आफूले जीवनको अन्तिम गल्ती पनि हुनसक्छ भनेको उनले स्मरण गरे । उनले अगाडि भने, ‘यहाँसम्म तानेर आइपुग्नु भएको छ । म फेरि पनि भन्छु, प्रधानमन्त्रीको जीवनको अन्तिम गल्ती यो नहोस् ।’

अध्यक्ष राजेन्द्र लिङदेनले हैसियत पुगेको दिन गणतन्त्र पल्टाइदिने चेतावनी दिएका छन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै राप्रपाका अध्यक्ष लिङ्देनले गणतन्त्रमाथि सधैं फोहोरी खेल भइरहने हो भने यसलाई ढालिदिने चेतावनी दिएका हुन् । उनले आफूहरूको संख्या सानो भए पनि गणतन्त्रको नाममा लुटतन्त्र मच्याइरहेको आरोप लगाए ।

उनले नयाँ सत्ता समीकरणमा आफू सहभागी नहुने स्पष्ट पारे । उनले भने, ‘हामीले ल्याएको व्यवस्था भनेर गणतन्त्रको जसरी व्याख्या गरिरहनु भएको छ । पछिल्लो समय गणतन्त्रको नाममा जुन प्रकारको लुटतन्त्र भइरहेको छ । त्यो लुटतन्त्र नै गणतन्त्र हो भने त्यो गणतन्त्रको हामी सधैं विरोध गर्छौं । सडकमा विरोध गर्छौं । सदनमा विरोध गर्छौं । जुन बेला हैसियत पुग्छ त्यत्तिबेला पल्टाइ दिन्छौं । त्यतिबेला हाम्रो मुख थुन्न सक्नु हुन्न ।’

उनले संसदमा उभिएर राजा र धर्मका नाममा गाली गर्ने छुट कसैलाई नभएको जिकिर गरे । राप्रपा अध्यक्ष लिङ्देनले नयाँ गठबन्धन स्वार्थहरूको गठबन्धन भएको आरोप लगाए । जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाए पनि नयाँ सत्ता हेरफेर स्वार्थको जोडघट भएको भन्दै उनले स्वार्थ मिले टास्सिने नमिले छुटिने बताएका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७