तेस्रो पटक आइपुग्दा घट्यो प्रधानमन्त्री प्रचण्डको समर्थन


३० फाल्गुन २०८०, बुधबार
pm prachanda samsad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक विश्वासको मत पाएका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा भएको मत विभाजनमा प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत खस्यो । विपक्षमा ११० खस्दा एक जनाले दिन्नमा मत हालेका थिए । सभामुख देवराज घिमिरेका अनुसार बुधबारको बैठकमा २६८ सांसद सहभागी थिए ।

तेस्रो पटक विश्वासको मत पाए पनि प्रधानमन्त्री दाहालको मत निरन्तर घट्दै गएको छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त हुँदा प्रचण्डले संसदको ९९ प्रतिशत बढी मत पाएका थिए । २०७९ पुस २६ मा उनले उपस्थित २७० सांसदमध्ये २६८ मत पाए । त्यतिबेला राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विपक्षमा मतदान गरेका थिए ।त्यस्तै दोस्रो पटक उनले २०७९ चैत ६ गते विश्वासको मत पाएका थिए ।

नेकपा एमालेसँगको गठबन्धन तोडेर नेपाली कांग्रेससँग सत्ता सहकार्य गरेका प्रधानमन्त्री दाहालले दोस्रो पटक १७२ मत पाएका थिए । उपस्थित २६२ सांसदमध्ये त्यतिबेला ८९ जनाले विपक्षमा मतदान गरेका थिए भने एक जना तटस्थ बसेका थिए । अघिल्ला दुई पटकको हिसाब गर्ने हो भने प्रधानमन्त्री दाहालको मत निरन्तर घटिरहेको छ । पहिलो पटक साना दुई दललेमात्र विपक्षमा मतदान गरेका प्रधानमन्त्री दाहाललाई यसपटक नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पार्टीले विश्वासको मत दिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७