जापानमा निजी क्षेत्रबाट पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण, तर भयो बिष्फोट


१ चैत्र २०८०, बिहीबार

टोकियो । जापानी निजी कम्पनीले अन्तरिक्ष कक्षमा पठाएको रकेट बिष्फोट हुन पुगेको छ । रकेट प्रक्षेपण भएको केहि समयपछि नै सो रकेट हावामा विष्फोट हुन पुगेको छ ।

सो क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भाइरल भइरहेको भिडियोमा रकेट प्रक्षेपण भएको केही सेकेण्डमै विष्फोट भएको देख्न सकिन्छ । निजी कम्पनीले पठाएको यस जापानी रकेटको नाम ‘काइरोस’ रहेको बताइएको छ । काइरोस बुधवार मध्य जापानको अपतटीय वाकायामा प्रिफेक्चरबाट प्रक्षेपण गरिएको थियो । तर यसको प्रक्षेपण लगत्तै यो हावामा विष्फोट भएको समाचार संस्थाहरूले जनाएका छन् ।

कैरोस विष्फोट भएको क्षेत्रमा केहीबेर धुवाँको मुस्लो चारैतिर देखिन्थ्यो । कतिपय ठाउँमा आगलागी पनि देखिएको छ । खुशीको कुरा यो हो कि यस विष्फोटमा कसैको हताहत भएको खबर आएको छैन । यो रकेट टोकियोको स्टार्ट अप कम्पनी ‘स्पेस वन’ ले प्रक्षेपण गरेको थियो । यस असफलतामा हाल कम्पनीबाट कुनै प्रतिक्रिया आएको छैन ।

‘स्पेस वन’ को असफलताको भिडियो सरकारी प्रसारण च्यानल एनएचकेमा पनि देखाइएको छ । ‘स्पेस वन’ को रकेट जापानको निजी कम्पनीले पहिलो पटक प्रक्षेपण गरेको बताइएको छ । कम्पनीको लक्ष्य यसलाई अन्तरिक्षमा सफलतापूर्वक स्थापित गर्ने र आफ्नो कम्पनीलाई यस क्षेत्रमा पहिलो निजी संस्थान बनाउने थियो तर उनीहरू यसमा असफल हुन पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७