सुन तस्करी प्रकरण : आयोगले कारबाही सिफारिस गरेका १२ जना को–को हुन् ?


२ चैत्र २०८०, शुक्रबार
Sun taskari

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीमा प्रत्यक्ष संलग्नहरुलाई नै जोगाउने काम भएको निष्कर्ष निकालेको छ । आयोगले सुन तस्करीसम्बन्धी अनुसन्धानमा पदको दुरुपयोग गर्दै गम्भिर त्रुटी गरिएको समेत ठहर गरेको छ । सुन तस्करीसम्बन्धी अनुसन्धानमा देखिएको त्रुटी समेतलाई औल्याउँदै आयोगले १२ जनालाई कारबाही सिफारिस गरेको छ ।

पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा असोजमा गठन भएको आयोगले पाँच महिनापछि बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएको थियो । आयोगले छानबिनबाट सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित १२ जना दोषी देखिएको उल्लेख गर्दै उनीहरूलाई कारबाही सिफारिस गरेको छ ।

आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार महरासहित ठमेलको छाया सेन्टरमा वाल्डो क्यासिनो सञ्चालन गरिरहेका चिनियाँ नागरिक टेरेन्स टिएचसी, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयका परराष्ट्र विज्ञ जीवन गुरूङ, विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी र जीवन चलाउने र होटल भियनाका सञ्चालक मन्जिल श्रेष्ठलाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको हो ।

यस्तै सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरेलाई पनि प्रतिवेदनले दोषी ठहर गर्दै विभागीय कारबाहीका लागि सिफारिस गरेको छ । यस्तै सीआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जय सिंह थापा, डिएसपी रूगम कुँवर र दुर्गा दाहाललाई सुन तस्करी प्रकरणमा दोषी ठहर गर्दै उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । उनीहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ ।

ब्यूरोमा उपस्थित गराएर समेत कागज मात्र गराएर छाडेको उनीहरुमाथि आरोप छ । ६० किलो सुन प्रकरणको अनुसन्धान गर्दा मुख्य अभियुक्त भगाएको, आरोपीहरूले दिएको बयानको कागज च्यातेको लगायतका कमजोरी सीआइबीबाट भएको प्रतिवेदनमा उल्लेख छ । सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ । बज्राचार्यलाई विभागीय कारवाहीका लागि निर्देशन दिइएको गृह मन्त्रालय स्रोतले पनि जानकारी दियो ।

गृहमन्त्री लामिछानेले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष उक्त प्रतिवेदन बुझाएका थिए । प्रधानमन्त्री प्रचण्डले आयोगले दोषी ठहर गरेकाहरूलाई कारबाही गर्न अगाडि बढ्न निर्देशन दिएपछि गृहमन्त्री लामिछानेले आज बिहान नै दोषी देखिएका प्रहरीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी महानिरीक्षक बसन्त कुँवर र गृहसचिव एकनारायण अर्याललाई निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशनपछि एआइजी बज्राचार्य लगायतका प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री प्रचण्डले आयोगले सिफारिस गरेको विषयहरूमा निर्णय गर्नेबारे छलफल गर्न आज अपराह्न ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७