बृहत राष्ट्रिय मोर्चा निर्माण नभएसम्म राजावादीको आन्दोलन निरथर्क : कमल थापा


३ चैत्र २०८०, शनिबार
kamal 1

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा हाल कायम संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल प्रमाणित भएको दाबी गर्दै गणतन्त्र लुटतन्त्रमा परिणत भएको आरोप लगाएका छन् ।

पार्टी कार्य सम्पादन समितिको बिस्तारित बैठकमा बोल्दै थापाले अहिले मुलुकमा सिमित राजनीतिक दलका नेताले सिण्डिकेट खडा गरेर राज्य सञ्चालन गरिरहेको समेत टिप्पणी गरेको समेत जनाएका छन् । थापाले अहिलेको राज्य प्रणाली र शासक बर्गप्रति जनतामा बितृष्णा रहेको भन्दै भ्रष्ट ब्यबस्था र शासकबाट जनताले मुक्ति खोजेको बताए । सबै अटाउन सक्ने मौलिक प्रजातन्त्रले मात्र मुलुकको राष्ट्रिय सुरक्षा, समाबेशी प्रजातन्त्र र आर्थिक समृद्धिको ग्यारेन्टी गर्ने भन्दै थापाले जनताको भरोसा टुटेको ब्यबस्थाले निकास दिन नसक्ने दाबी गरे ।

आफूलाई राजसंस्था र हिन्दू राष्ट्रको पक्षधर भन्नेहरुले समयको महत्वलाई बुझ्न नसकेको भन्दै थापाले राजसंस्था र हिन्दू राष्ट्रको सम्भावनालाई तुहाई दिने आत्मघाती सोचबाट मुक्त हुनुपर्ने समेत बताए । बृहत् राष्ट्रिय मोर्चा निर्माण नभएसम्म कुनै पनि पक्षबाट एकाङ्की रुपमा गरिने आन्दोलन निरर्थक र औचित्यहिन अभ्यास हुने स्पष्ट हुने हुँदा मोर्चा निर्माणमा राप्रपा नेपाल निरन्तर प्रयत्नशील रहेको समेत उनले स्पष्ट पारे । सामुहिक नेतृत्व र सबैको सहभागिताको सिद्धान्तको आधारमा सहकार्य र मोर्चा निर्माणमा आफूहरुको प्रयास हुने थापाको कथन छ ।

बैठकले मिटरब्याज, लघुबित्त, सहकारी र बैंकबाट पीडित लाखौं जनताको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने समेत निर्णय गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्यक्रम, सकृय सदस्यता बितरण अभियान, उपनिर्बाचन र संगठन सुदृढीकरण लगायतका बिषयमा बैठकमा छलफल भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७