कांग्रेसलाई वर्ग शत्रु किटान गरेर जान सकिँदैन : माधव नेपाल

‘सरकारमा हामीले अझै एउटा मन्त्रालय पाउँछौं’


३ चैत्र २०८०, शनिबार
madhav nepal
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको सबैभन्दा ठूलो चुनौति संविधान, गणतन्त्र र संघीतालाई समाप्त पार्ने प्रवृत्ति बोकेका पार्टीहरु प्रमुख समस्याको रुपमा रहेको बताएका छन् । रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जान नसिकिँने बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ गठबन्धनमा पार्टीले थप एक मन्त्रालय पाउने दाबी गरेका छन् । बुधबार पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिपरिषदमा एकीकृत समाजवादील अझै एक मन्त्रालय पाउने बताएका हुन् ।

‘आ–आफ्नो संख्यामा आधारमा विभिन्न संख्यामा मन्त्रीहरू पठाइएका छन् । हाम्रो पार्टीले तीन वटा मन्त्री पाउँछ । दुईटा पठाएको छ । अर्को पनि हामी समयक्रममा पठाउनेछौं,’ उनले भने । गठबन्धनमा भने उनको पार्टीलाई दुई मन्त्रालय दिने सहमति भएको थियो । सो अनुसार भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकास मन्त्री छन् ।

अध्यक्ष नेपालले प्रदेश सरकार पुनर्गठन हुने र त्यहाँ पनि पार्टीले त्यही हिसाबमा मन्त्रीहरू पठाउने बताए । सँगै राजनीतिक नियुक्तीमा पनि आफ्ना मान्छेहरू पठाइने उनले बताए । ‘त्यस्ता ठाउँहरूमा जहाँ राजनीतिक नियुक्ति गर्नुपर्ने हुन्छ। त्यहाँ योग्य र सक्षम मान्छेहरू हाम्रा पनि छन् भने त्यसप्रति कुनै पूर्वाग्रह नराखी सकारात्मक सोच राखेर उनीहरूले पनि अवसर पाउनुपर्छ,’ उनले भने ।

एकीकृत समाजवादीले पठाएका मन्त्रीहरूले राम्रो काम गरेर देखाउनुपर्ने पनि अध्यक्ष नेपालले बताए । ‘हाम्रा मन्त्रीहरूको सबैभन्दा पहिले व्यवहार राम्रो हुनुपर्छ । सक्दो सेवा गर्न अग्रसरता लिनुपर्छ. जति गर्दा पनि सम्भव हुँदैन, पार नै लाग्दैन र कानुनी हिसाब तथा त्यहाँको परिवेशले गर्दा मिल्दैन भने मन्त्रीलाई दोष दिएर हुँदैन,’ उनले भने, ‘उसको सीमा हुन्छ । सबैको सीमा हुन्छ । नियम कानुन मिचेर कसैले पनि काम लगाउनु हुँदैन ।’ नियम कानुन विधिअन्तर्गत बसेर इमानदारिताका साथ राम्रो काम गरेर एकीकृत समाजवादीले जनताको मन जित्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७