कांग्रेसबाट हामीलाई पटक–पटक धोका भयो : प्रधानमन्त्री

‘गण्डकीको नेतृत्व माओवादीले पाउन सक्छ’


४ चैत्र २०८०, आईतवार
pm 6

पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् । आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘कांग्रेसबाट पटक–पटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं ।’ प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने समेत जानकारी दिए । उनले भने, ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ । पूर्वदेखि पश्चिमसम्मको तराई–मधेशलाई समेटेर एउटा अभियान चल्ने छ । हिमाल, पहाड र तराई–मधेशलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।’

गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताए । प्रधानमन्त्रीले भने, ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौं । प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौं । त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौं ।’ केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए ।
‘कम्युनिष्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै संकट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशका राजनीति सही बाटोमा आएको छ’, प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७