नोबेल नर्स हत्या प्रकरण : आरोपित प्रेमी पनि मृत भेटिए


५ चैत्र २०८०, सोमबार
nurse morang

मोरङ । मोरङ विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न भनिएका युवक पनि मृत फेला परेका छन् । स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन् । नोबेल अस्पताल अगाडि एक होटलको कोठामा गए राति उनी झुण्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

सिरहाको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ स्थित एक घरमा हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा बाथरुममा शव फेला परेको थियो । चन्द्रिकाको हत्यापछि फरार शिवशंकरको खोजीका क्रममा आत्महत्या गरेको अवस्थामा शव भेटिएको एसपी कार्कीले जानकारी दिए ।

उनले भने, ‘प्राविधिक रूपमा पनि अनुसन्धान गर्दै आएका थियौं । त्यही क्रममा आइतबार दिउँसो विराटनगरको कञ्चनबारीतिर शिशवंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको थियो । ट्रयाक गर्दै खोजी गर्ने क्रममा होटलमा प्रहरी टोली पुगेको थियो । एउटा होटलको ढोका खुलेन । त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव भेटिएको हो,’ एसपी कार्कीले सुनाए ।

शिवशंकर मृत भेटिएको होटल नर्स चन्द्रिकाको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्ने प्रहरीले जानकारी दिएको छ । शिवशंकर र चन्द्रिका चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि चन्द्रिकाको सिरहाका अर्का एक युवकसँग प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

‘चन्द्रिकाले प्रेममा धोका दिएपछि हत्या गरेको देखिन्छ,’ घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेका रहेछन् ।’ शिवशंकर एक हप्ता अगाडि मात्रै मेलेसियाबाट फर्किएका थिए । उनी फागुन २७ गते काठमाडौ आइपुगेका थिए भने २९ गते विराटनगर आएका थिए । विराटनगर आएपछि उनी चन्द्रिकाको डेरामा बसेको प्रहरीले जनाएको छ । प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७