केदार गौतमविरुद्ध साढे ३४ करोड बिगो मागसहित मुद्दा दायर


५ चैत्र २०८०, सोमबार
sampati

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तेजबहादुर थापा भनिने केदारप्रसाद गौतमसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले बैंकिङ कसुर मुद्दामा ३४ करोड ६९ लाख ४१ हजार ८१६ रुपैयाँ बिगो मागदाबीसहित गौतमविरुद्ध मुद्दा दर्ता गरेको हो ।

अर्का प्रतिवादी थापाविरुद्ध ३४ करोड १७ लाख २९ हजार १०३ रुपैयाँ बिगो मागदाबी गरिएको छ भने वसन्त राई भनिने सूर्यबहादुर लिम्बुलाई ६ करोड ८ लाख बिगो माग गरिएको छ । सरकारी वकिल कार्यालयले विसं २०७२ भदौ २१ गते गौतमविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न निर्देशन दिएको थियो । अनुसन्धानमा गौतमले कृष्णहरि थापाको मिलेमतो र आपसी योजनामा कृषि विकास बैंकबाट रकम अपचलन गरेका थिए ।

गौतमले प्रतिवादी कृष्णहरि थापाको समेतको मिलेमतोमा कृषि विकास बैंकबाट अपचलन गरिएको सो रकम गैरकानुनी स्रोत लुकाउने मनसायले रन्जित भट्टराई, सरोज यादव, नबिन गुरुङ्ग र बलराम केसी समेतको नाममा ट्रान्सफर गरेका थिए । उक्त रकम फेरि बलराम केसी, नगेन प्रधान, नवीन गरुङ, सुमन शर्मा, सरोज यादव समेतका ११ जनाको नाममा कृषि विकास बैंकमा खोलिएका १० वटा खाता र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा खोलिएको एक खातामा ट्रान्सफर गरिएको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने काम गर्नुका साथै कारोबारमा जटिलता सिर्जना गर्ने मनसायले काल्पनिक र अस्तित्वमा नै नरहेका विभिन्न मानिसका नाममा खाताहरू खोलेर उक्त रकमको कारोबार गरेको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ । विभागले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम विगोको दोब्बर जरिवाना र कसूरको मात्रा अनुसार कैद सजायको मागसमेत गरेको छ । त्यस्तै उनीहरूको बैंक खातामा जम्मा रहेको कसुरबाट प्राप्त सम्पत्ति तथा साधन जफत गर्न समेत माग गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७