दुर्घटनामा बचेकी सरिता भन्छिन्, ‘बस एक्कासी बजारियो, उठेर चिच्याउँदै काखको छोरी खोज्न थालें’


६ चैत्र २०८०, मंगलवार
acci 1

कास्की । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी छन् । रुकुमबाट काठमाडौँका लागि छुटेको खड्का चढेको यात्रुवाहक बस सोमबार साँझ बाग्लुङको निसीखोला–६ मा दुर्घटना भएको थियो । सरिताको ढाड र टाउकामा चोट लागेको छ ।

सरिता तीन महिनाको छोरी ज्ञानु, ससुरा ६२ वर्षीय हर्कबहादुर केसी र सासू ५५ वर्षीया लिलासहित काठमाडौँ जाँदै थिए । घरबाट खाना खाएर सोमबार बिहान ९ः३० बजेतिर चारै जना बसमा चढे । मंसिरमा शिक्षक पेसाबाट सेवानिवृत्त सरिताका ससुरा हर्कबहादुरको काठमाडौँमा पेन्सन पट्टाको काम मिलाउनु थियो । सासूले भनेपछि सरिता पनि छोरी लिएर जान तयार भइन् । सरितालाई पेटको समस्या भएकाले यही मेसोमा राजधानीमा राम्रो उपचार गर्ने योजना थियो ।

बस मध्यपहाडी राजमार्गमा आफ्नै गतिमा हिँडिरहेको थियो । साँझ पर्दै थियो । रुकुम र बाग्लुङको सीमा पातीहाल्नेमा खाजा खान बस रोक्ने यात्रुहरुको अनुमान विपरीत बस नरोकिईकन अघि बढ्यो । यात्रुहरु आफ्नै तालमा कोही निदाइरहेका थिए भने कोही मोबाइल हेरिरहेका थिए । सरिता पनि छोरीलाई काखमा सुताएर निदाइरहेकी थिइन् । निसीखोलाको जाउलेपानीमा आइपुगेपछि बसका केही यात्रु गाडी गयो, गयो भनेर एक्कासी चिच्याउन थाले ।

सरिता पनि झल्यास्स भइन् र काखको छारीलाई च्याप्प समाइन् । बस एक बल्डङ खाएको सरितालाई याद छ । उनी त्यही अड्किछन् । मणिपाल अस्पतालको आकस्मिक कक्षबाट खड्काले भनिन्, ‘एक्कासी बस गयो गयो भनेर सबै चिच्याए, मलाई बोल्न आएन, छोरीलाई च्याप्प समाएँ, बस एक्कासी बजारियो, त्यही बेला म बीचमा अड्किएको रहेछु, होशमा आउँदा छोरी काखमा थिइन, बस तल थियो, उठेर छोरी -छोरी भनेर चिच्चाएँ ।’

काखमा छोरी नदेखेपछि सरिता चिच्याइन् । भान्जाले माथि छन् भनेपछि सरिता सकी नसकी उठेर छोरी भएको ठाउँमा पुगिन् । छोरी रोइरहेकी थिइन् । भाञ्जाको सहयोगले माथि सडकमा निस्किइन् । बुर्तिबाङमा सामान्य उपचारपछि बाग्लुङ जिल्ला अस्पताल पठाएकामा अहिले सरिता, छोरी, सासू / ससुरासहित पाँच जनाको मणिपालमा उपचार भइरहेको छ । दुर्घटना कसरी भयो भन्ने उनलाई केही जानकारी छैन । बस एक्कासी सडकबाट तल खसेको मात्र उनलाई थाहा छ । पछि घाइतेहरुले बस तीव्र गतिमा भएको बताएको सरिताले बताइन् ।

अहिले सरितालाई काठमाडौँ जान नहिँडेको भए हुने रहेछ भन्ने लागिरहेको छ । ‘किन काठमाडौँ जान लागेँ हुँला जस्तो भइरहेको छ’, उनले भनिन्, ‘ठूलो भाग्यले बाँचियो, जिन्दगीमा यस्तो पनि भोग्नुपर्ने रहेछ ।’ दुर्घटनामा परेका सरिता र छोरीको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

उनका ससुरा हर्कबहादुर, सासू लिला र सिन्धुपाल्चोकका देवेन्द्र रिजालको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सक डा. नवराज बस्ताकोटीले जानकारी दिए । उनका अनुसार मणिपालमा पाँच जनाको उपचार भइरहेकामा गम्भीर घाइतेको मेरुदण्ड र कम्मरको हड्डी भाँचिएको छ । बाग्लुङको निसीखोला बस दुर्घटनामा नौं जनाको मृत्यु भएको छ भने घटनामा २८ जना घाइते छन् । घाइतेहरुको पोखरासहित बाग्लुङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७