इलाम कांग्रेसले उपनिर्वाचनका लागि गर्‍यो उम्मेदवार सिफारिस, भेषराज आचार्य १ नम्बरमा


६ चैत्र २०८०, मंगलवार
Veshraj aacharya ilam

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको सिफारिस गरेको छ । आज (मंगलबार) इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमिति बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । यी नामहरू जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ ।

क्षेत्रीय सभापति डिकेन्द्र इधिङ्गोले दिएको जानकारी अनुसार बैठकले १ नम्बरमा भेषराज आचार्यको नाम सिफारिस गरेको छ । आचार्य महासमिति सदस्य हुन् । सभापति इधिङ्गोका अनुसार २ नम्बरमा नेता केशव थापाको नाम सिफारिस गरिएको छ । यस्तै क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङदेनको नाम सिफारिस भएको छ ।

बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बु र चन्द्रकला राईको नाम सिफारिस गरेको छ । ’यी नामहहरूमा जिल्ला र प्रदेश कार्यसमिति राय लेखेर पठाउनेछन् र केन्द्रले फाइनल गर्नेछ,’ उनले भने, ’पहिलो नम्बरमा नेता भेषराज आचार्यको नाम हामीले सिफारिस गरेर पठाएका छौं ।’

इलाम क्षेत्र नम्बर २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । गएको निर्वाचनमा एमालेबाट निर्वाचित सांसद सुवास नेम्वाङको देहावसान भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गतेका लागि उम्मेदवारी दर्ताको मिति तोकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७