आफू बोल्ने बेलामा अर्थमन्त्री बाहिर गएको भन्दै सांसद लामाले जनाइन् आपत्ति


७ चैत्र २०८०, बुधबार
bina lama

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले अर्थमन्त्री वर्षमान पुनप्रति असन्तुष्टि प्रकट गरेकी छिन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा आफू बोल्ने बेला बाहिर गएको भन्दै अर्थमन्त्री पुनसँग असन्तुष्टि जनाएकी हुन् । सांसद लामाले अर्थमन्त्री पुनले राप्रपामाथि विभेदकारी नीति राखेर बाहिर गएको आरोप समेत लगाइन् ।

सभामुखको आसनबाट उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री आफ्नो प्रतिनिधि राखेर खाना खान बाहिर गएको जानकारी दिँदै बोल्न आग्रह गरेकी थिइन् । तर, सांसद लामाले अर्थमन्त्री नहुँदा कसलाई सुनाउने भन्दै नबोल्ने अड्डी लिइन् । त्यसपछि भने अर्थमन्त्री पुन बैठकमा फर्किएर आएका थिए ।

सांसद लामाले बैठकमा अर्थमन्त्री पुन आएकोमा धन्यवाद दिँदै राप्रपा बोल्न आउँदा भागेको हो कि भन्ने आफूलाई लागेको पनि बताइन् । उनले पर्यटन, कृषि जस्ता क्षेत्रमा लगानी बढाएर मुलुकमा रोजगारीको अवसर सिर्जना हुनेगरी बजेट ल्याउन आग्रह गरिन् । सांसद लामाले गरिब महिला उद्यमीका लागि उचित तालिमसहितको बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७