प्रतिनिधि सभा बैठक १० दिन रोकेर सभामुख र प्रमुख सचेतकहरू स्वीट्जरल्याण्ड जाँदै

गृहमन्त्रीमाथि संसदीय छानविन समिति गठन हुनुपर्ने कांग्रेसको माग ‘अलपत्र’


७ चैत्र २०८०, बुधबार
devraj

काठमाडौं । प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ । सभामुखसहित दलका प्रमुख सचेतकहरू अन्तर व्यवस्थापिका संघ (आइपियू) को बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड जाने भएपछि बैठक १० दिनका लागि स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेसँगै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सांसद गंगा बेलबासे स्वीट्जरल्याण्ड जाने कार्यक्रम छ ।

यस्तै संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रवक्ता एकराम गिरी, संसदको अन्तर्राष्ट्रिय शाखाका प्रदिप गुरागाईं र सभामुख घिमिरेका स्वकीय सचिव तेज प्रकाश भट्टराई पनि साथै जानेछन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख सहितको टोली बिहीबार आइपियूमा गएर चैत १६ गते फर्किने कार्यक्रम छ । सभामखुसहित प्रमुख दलका प्रमुख सचेतकहरू पनि स्वीट्जरल्याण्ड जाने भएपछि संसद बैठक चैत १८ गतेसम्मका लागि स्थगित भएको हो ।

गृहमन्त्रीमाथि संसदीय छानविन समिति गठन हुनुपर्ने कांग्रेसको माग ‘अलपत्र’
यसैबीच सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग कम्तीमा ११ दिनका लागि ‘अलपत्र’ परेको छ । प्रतिनिधिसभाको बैठक चैत्र १८ गतेसम्म स्थगित भएसँगै संसदीय छानबिन समिति गठन हुने नहुने विषय ११ दिनका लागि टरेको हो ।

आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा कांग्रेसले आगामी बैठकमा संसदीय छानबिन समिति गठन नभए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको थियो । सहकारी ठगीमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्नता नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफबाट चित्त नबुझेपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको हो ।

कांग्रेस सांसद ईश्वरी न्यौपानेले सहकारीको सदस्य नभएको व्यक्तिले ऋण लिएको तथ्य प्रधानमन्त्री प्रचण्डले नै संसद्मा स्वीकार गरिसकेको बताइन् । उनले संसदीय छानबिन समिति गठनबारे आगामी बैठकमा निर्णय नभए संसद चल्न नसक्ने उनले उल्लेख गरिन् । संसदमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त माथिको छलफल चलिरहेका कारण बैठक चल्न दिएपनि आगामी बैठकबाट अझ सशक्त ढंगले विरोध गर्ने एक सांसदले बताए । प्रि–बजेट छलफल बुधवार नै सकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७