मैत्रीपूर्ण खेलमा ब्राजिल र जर्मनी विजयी


११ चैत्र २०८०, आईतवार
brazil.jpg

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र जर्मनी विजयी भएका छन् । गए राति सम्पन्न खेलमा ब्राजिलले इङल्याण्डलाई र जर्मनीले फ्रान्सलाई पराजित गरेको हो ।

ब्राजिलले इङल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेको थियो । ब्राजिलले युवा खेलाडी एनड्रीकको गोलमा जित हासिल गरेको हो । १७ बर्षीय एनड्रीकले खेलको ८०औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । एनड्रीकले ब्राजिलका लागि तेस्रो खेलमा पहिलो गोल गरेका थिए ।

उनलाई ब्राजिलको नयाँ सुपरस्टार खेलाडीको रुपमा हेरिएको छ । व्यावसायिक रुपमा उनले स्पेनिस क्लब रियल म्याड्रिडसँग सम्झौता गरिसकेका छन् र उनी आगामी जुलाईदेखि रियल म्याड्रिडमा आवद्ध हुने छन् । हाल अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब ब्राजिलले मार्च २७ मा स्पेनसँग खेल्ने तालिका रहेको छ ।

त्यस्तै इङल्याण्डले भने अर्को खेल मार्च २७ मै बेल्जियमसँग खेल्ने तालिका रहेको छ । त्यसैगरी गएराती सम्पन्न खेलमा जर्मनीले फ्रान्सलाई २–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा फ्लोरियन विर्त्ज र काइ हाभेर्टले एक एक गोल गरेका थिए । हाल अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब जर्मनीले अर्को खेल नेदरल्याण्डससँग मार्च २७ मा खेल्ने छ भने फ्रान्सले मार्च २७ मै चिलीसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७