१५ महिना पूरा नहुँदै चौंथो पटक विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री यादव


११ चैत्र २०८०, आईतवार
saroj yadav madhesh

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो कार्यकालको करिब १५ महिना पूरा नहुँदै चौंथो पटक विश्वासको मत लिँदैछन् । प्रदेश सरकारबाट नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले फेरि विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । गत शुक्रबार कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले गत सोमबार कांग्रेसका मन्त्रीलाई हटाउँदै एमालेलाई सरकारमा प्रवेश गराएपछि कांग्रेसले समर्थन फिर्ता लिएको हो ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था छ । जस अनुसर अबको ३० दिन भित्र मुख्यमन्त्री यादवलाई चौथो पटक विश्वासको मत लिनु पर्नेछ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा रहेको मधेस सरकारमा अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी(जसपा) र नेकपा एकीकृत समाजवादी रहेको छ ।

मधेस प्रदेशसभामा कुल सदस्य १०७ जना रहेकोमा बहुमत संख्या अर्थात कम्तिमा ५४ जनाले उनको पक्षमा मतदान गर्नु पर्नेछ । तर वर्तमान गठबन्धनसँग ६९ सांसद छ । सरोज यादव नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारलाई कुनै फरक नपरे पनि संवैधानिक व्यवस्थाअनुसार उनलाई विश्वासको मत लिनुपर्ने छ ।

यसअघि जनमत पार्टीले सरकारबाट बाहिरिँदै दिएको समर्थन फिर्ता लिएपछि गत फागुन ६ गते मुख्यमन्त्री यादवले विश्वासका मत लिएका थिए । उनले तेस्रो पटक विश्वासको मत लिँदा पक्षमा ६९ र विपक्षमा ३५ जनाले मतदान गरेका थिए । त्यसअघि नेकपा एमाले सरकारबाट बाहिरिएपछि जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थि ए। उक्त समय सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले समेत विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले सिंगो सदनको विश्वासको मत पाएका थिए ।

अहिले प्रदेशसभामा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९, नेकपा एसका ७ सांसद छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल संघीय समाजवादी पार्टीका १-१ सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७