‘प्रकृतिको संसदमा प्रतिनिधत्व’ को माग राख्दै लद्दाखका पर्यावरणबिद् वाङचुङ २० दिन भोक हडतालमा


१२ चैत्र २०८०, सोमबार
wangchung ansan

नयाँदिल्ली । लद्दाखका सामाजिक कार्यकर्ता र पर्यावरणविद् सोनम वाङ्चुक मार्च ६ देखि लेहमा अनसनमा रहेका छन् । उनले छैठौं अनुसूची र संवैधानिक सुरक्षा अन्तर्गत केन्द्र शासित प्रदेश लद्दाखलाई राज्यको दर्जा दिन माग गरिरहेका छन् ।

आइतबार कारगिल लोकतान्त्रिक गठबन्धन (केडीए) ले पनि कारगिलमा विरोध प्रदर्शन गर्दै अनसन सुरु गरेको थियो ।लद्दाखको एपेक्स बडी लेह (एबीएल) र कारगिल लोकतान्त्रिक गठबन्धनबीच दिल्लीमा भएको केन्द्रीय गृह मन्त्रालयसँगको वार्ता असफल भएपछि सोनम वाङ्चोकले अनसन सुरु गरेका हुन । उनले आफ्नो अनसनलाई ‘क्लाइमेट फास्ट’ को नाम दिएका छन् ।

आइतबार पनि केडीएका सदस्य, पार्षदहरू, धार्मिक नेताहरू, युवाहरू, राजनीतिज्ञहरू र सामाजिक कार्यकर्ताहरू कारगिलको हुसैनी पार्कमा पुगेर अनसनमा बसेका थिए । हुसेनी पार्कमा करिब सय जनाले सामुहिक अनसन सुरु गरेका छन् ।
सोनम वाङचुकले आफ्नो एक्स ह्यान्डलबाट भिडियोहरू पोस्ट गरेर अनसनको बारेमा नियमित रूपमा अपडेट दिइरहेका छन् । उनले आफ्नो एक्समा पोस्ट गरेका थिए, ‘आज (आइतबार) ५ हजार मानिस मसँगै उपवास बसेका छन् । बिहानको तापक्रम माइनस चार डिग्री सेल्सियस छ । हाम्रा संसद र नीति निर्माणमा प्रकृतिले कुनै गम्भीर स्थान नपाएको हुनाले म यहाँ एउटा अनौठो विचार राख्दैछु । प्रकृतिलाई भोट दिने अधिकार छ ।’

उनले भिडियोमा प्रष्ट पारेका छन् कि प्रकृतिका प्रतिनिधि पनि अब भारतको संसदमा पनि हुनुपर्छ । सोनम वाङचुकले पोस्टमा लेखेका छन्, ‘यो प्रकृतिको प्रतिनिधि भन्ने अनौठो लाग्न सक्छ, जसरी १०० वर्षअघि महिला वा अश्वेतलाई मतदानको अधिकार दिन अकल्पनीय थियो । कुन देशले पहिले सुरु गर्न सक्छ भन्ने प्रश्न हो ? के त्यो भारत हुन सक्दैन ?’

पीडीपी प्रमुख महबुबा मुफ्तीले लद्दाखका जनताको मागको समर्थनमा यस विषयमा प्रतिक्रिया दिएका छन् । जम्मु कश्मीरका पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीले आइतवार ट्वीटरमा लेखेकी छिन्, ‘अब जब भाजपा र पुँजीपतिहरू बीचको सम्बन्ध पर्दाफास भएको छ, यसले भारत सरकारले लद्दाखीहरूको जायज मागलाई किन बेवास्ता गरिरहेको छ भन्ने सही स्पष्टीकरण दिनुपर्छ ।’

उनले अनसनरत सोनम वाङ्चुकका विचलित दृश्यहरूले पनि अलिकति पनि सहानुभूति वा चिन्ता उत्पन्न नगरेको पनि आरोप लगाएकी छन् । इन्डियन एक्सप्रेस समाचारको लिङ्क साझा गर्दै पीडीपी प्रमुखले पोस्टमा लेखेका छन्, ‘अहिले जम्मू–कश्मीरको लिथियम भण्डार पनि लुट्दै छन् र शंकास्पद कम्पनीहरूलाई उपहार दिइँदैछ , जसले पछि यो अवैध आम्दानीलाई प्रयोग गर्नेछ ।’ उनका अनुसार सत्तारुढ दल भाजापालाई सो लिथियमको भण्डार ‘पार्टी कोष’ बराबर हुन पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७