इलाम–२ मा मिलन लिम्बूलाई उम्मेद्वार बनाउने रास्वपाको तयारी


१३ चैत्र २०८०, मंगलवार
Milan Limbu

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार उठाउने तयारी गरेको छ । तर उम्मेद्वारी घोषणा भने चैत १७ गते पार्टी सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्ने जनाइएको छ । प्राइमरी भोटिङमा मिलन लिम्बूको पनि नाम रहेको रास्वपाका एक नेता बताउँछन् ।

लिम्बू र अर्का दुई जनाले पनि उम्मेदवारी दर्ता गरेका छन् । रास्वपाबाट उम्मेदवार हुनका लागि डिकबहादुर तामाङ, मिलन लिम्बू र महेन्द्र थापालगायतका व्यक्तिको चर्चा भइरहेको छ । ‘प्राइमरी इलेक्सन घोषणा गरेर उम्मेदवारी दर्ता गराएकाले यसको प्रक्रिया पुर्‍याउनु पर्ने हुन्छ,’ रास्वपाका एक भन्छन्, ‘उम्मेदवारमा मिलन लिम्बूको बढी सम्भावना देखिएको छ ।’
उम्मेदवार घोषणाका लागि चैत १६ गते पार्टी सभापति लामिछाने इलाम जाँदैछन् ।

पत्रकारिता पृष्ठभूमिका लिम्बू माओवादी केन्द्रका कार्यकर्ता समेत थिए । तर उनले माओवादी केन्द्रसँगको आबद्धता त्याग्दै स्वतन्त्र उम्मेदवार घोषणा गरेका थिए । लिम्बूू हाल चुनावी मैदानमा क्रियाशील छन् । उनी इलाम माङ्सेबुङका हुन् । लिम्बूले पत्रकारिता क्षेत्रमा डेढ दशक बिताएका छन् । त्यसपछि उनीसँग संवाद भएको र पार्टीले उम्मेदवार बनाउने तयारी गरेको रास्वपा स्रोत बताउँछ । उपनिर्वाचनमा सत्ता गठबन्धनबीच सहकार्य नहुने देखिएको छ । अहिलेसम्म नेकपा (एमाले) र रास्वपाको छुट्टाछुट्टै उम्मेदवार हुने देखिएको ती दलका नेताहरू बताउँछन् ।

रास्वपाले इलाम क्षेत्र नम्बर २ को अवस्था र पार्टीको स्थिति बुझ्न ६ जना सांसदलाई ६ पालिकामा पठाएको थियो । रास्वपाका ६ जना सांसदहरू चैत १९ गते इलामका विभिन्न पालिका पुगेर अन्तरक्रिया गरेका थिए । सोबिता गौतम इलाम नगरपालिका पुगेकी थिइन् । गणेश पराजुली देउमाई नगरपालिका पुगेका थिए भने मनिष झा माई नगरपालिका पुगेर अन्तरक्रिया गरेका थिए ।

त्यस्तै सांसद अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिका पुगेका थिए । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमाण्डरका रूपमा इलाममै खटिएका छन् । यता नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनी स्वर्गीय नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् । माओवादी केन्द्रले उम्मेदवार सिफारिस, छनोट आदि प्रक्रियाबारे छलफल नै नगरेकाले उसले एमालेलाई सघाउने तयारी छ ।

इलाम क्षेत्र नम्बर २ मा सीके राउत नेतृत्वको जनमत प्रेमदीप थाम्सहाङलाई समर्थन गर्ने भएको छ । पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई पार्टीले समर्थन गरेको’ जनमतका सचिव बिपी साहले बताएका छन् । पहिचानवादीकै तर्फबाट डकिन्द्रसिंह थेगिमले पनि उम्मेदवारीको घोषणा गरेका छन् । इलाम–२ मा यसअघि एमालेले ११४ मतले चुनाव जितेको थियो । इलामबाट निर्वाचित संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएपछि उपचुनाव हुन लागेको हो । वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ । यसका लागि यही चैत २४ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७