चार ‘लेन’ को महाकाली पुल निर्माणको अन्तिम चरणमा


१४ चैत्र २०८०, बुधबार
mahakali pul 2 1

कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’ को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ ।

विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै आठ दशमलव छ किलोमिटर छ लेन सडक निर्माणको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापत रु आठ करोड ५० लाख रकम हालै कम्पनीलाई प्राप्त भएको जानकारी दिए ।

इन्जिनियर पाण्डेयले पुलसँगै निर्माण हुने पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन ’का लागि सडक विभागमा पु¥याउने प्रक्रियामा रहेको जानकारी दिए । ‘भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ’, उनले भने, ‘गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ ।’ उनले आठ दशमलव छ किलोमिटर छ लेनको पहुँचमार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए ।

‘रकम अभावलगायतका कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ’, इन्जिनियर पाण्डेयले भने । पुलको लागत रु तीन अर्ब ६६ करोड हो । पुलको दुवैतर्फ बाँध बाँधेर पर्यटकीयस्थल हुनेगरी पोखरी निर्माण गरिएको छ । पुलको उत्तरतर्फ एक वर्गकिलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७