विक्रेता लिन नआएपछि प्रदेश कार्यालयको गोदाममै थन्किए पाठ्यपुस्तक


२० चैत्र २०८०, मंगलवार
Book surkhet

सुर्खेत । कर्णाली प्रदेशको सबै जिल्लाका लागि पठाइएको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र कर्णालीको प्रदेश कार्यालयस्थित गोदाममै थन्किएको छ । बिक्रेताले प्रदेश कार्यालयमा आइ पाठ्यपुस्तक नलिएका कारण पुस्तक गोदाममै थन्किएको हो । केन्द्रको तालिका अनुसार चैत ९ गतेदेखि पुस्तक वितरण सुरु गरिएको प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तले बताए । यो आर्थिक वर्षको लागि आवश्यक पर्ने १० लाख थान पुस्तक गोदाममा ल्याइसकेको प्रमुख पन्तले बताए ।

जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गर्ने कार्य योजना बनाए पनि उक्त योजना अनुसार पुस्तक वितरण हुन सकेको छैन । केन्द्रले चैत ९ देखि १४ गतेसम्म हुम्ला र डोल्पा, चैत १५ गतेदेखि १६ सम्म मुगु, १७ गतेदेखि १८ सम्म जुम्ला, १९ गतेदेखि २० सम्म कालिकोट, २१ गतेदेखि २२ सम्म जाजरकोट पुस्तक पठाउने तालिका सार्वजनिक गरेको थियो । त्यसैगरी २३ गतेदेखि २४ सम्म दैलेख र २५, २६, २७ गते तीन दिन सुर्खेतका लागि पुस्तक वितरण गरिने तालिकामा उल्लेख छ ।

बिक्रेताले पाठ्यपुस्तक लिन नआएपछि तोकिएको तालिकाअनुसार जिल्लामा पुस्तक पठाउन नसकिएको केन्द्रले जनाएको छ । केही छिटपुट मात्रामा ढुवानी भए पनि धेरैजसो पाठ्यपुस्तक ढुवानी हुन बाँकी छ । नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै मागअनुसारका पुस्तक गोदाममा ल्याइ सकेकाले यो वर्ष पाठ्यपुस्तक अभाव नहुने कार्यालयको भनाइ छ । कर्णालीका सबै बालबालिकालाई पुग्ने गरी पुस्तक ल्याएको कार्यालय प्रमुख पन्तले जानकारी दिए ।

दुर्गम तथा हिमाली जिल्लालाई प्राथमिकतामा राखेर तालिका बनाइए पनि तालिका अनुसार पुस्तक पठाउन सकिएको छैन । जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतबाट हुम्लाका दुई वटा मात्र स्थानीय तहले पुस्तक लगेका छन् । हुम्लाको दुई पालिकामा छ सय सेट पुस्तक पठाइएको छ ।

अहिलेसम्म मुगुमा पुस्तक गएको छैन । दैलेखमा तीन पुस्तक बिक्रेतामार्फत दुई हजार तीन सय सेट, सुर्खेतमा दुई पुस्तक बिक्रेतामार्फत एक हजार एक सय सेट, कालीकोटमा एक हजार सेट, जुम्लामा पाँच सय सेट, जाजरकोटमा दुई पुस्तक बिक्रेतामार्फत छ सय सेट पुस्तक मात्र पुगेको छ ।

जम्मा छ हजार दुई सय सेटको हाराहारीमा पाठ्यपुस्तक कर्णालीका विभिन्न जिल्लामा पुगेका छन् । गोदाममा पर्याप्त किताब भए पनि किताब लिन बिक्रेता नआएको कार्यालय प्रमुख पन्त बताउँछन् । डोल्पाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर बस्नेतले झन्झटिलो प्रक्रियाका कारण पाठ्यपुस्तक बालबालिकाको हातहातमा पुग्न ढिलाइ हुने गरेको बताए । डोल्पाका चार वटा स्थानीय तहले फागुनदेखि नयाँ शैक्षिकसत्र आरम्भ गरेकोले जिल्लामा फरक समयमा शैक्षिक सत्र सुरु हुने गरेको उनले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई मुगुका प्रमुख सूर्यबहादुर खत्रीले स्थानीय निकायले किताबका लागि रकम निकासामा ढिलाइ गर्दा बिक्रेताले किताब समयमा ल्याइ नपुर्‍याउने गरेको बताए । जनक शिक्षाको प्रदेश कार्यालयमा रकम जम्मा गरेपछि मात्र पाठ्यपुस्तक पठाउने गरिएको छ । बिक्रेताले स्थानीय तहले रकम नदिएका कारण आफूहरूले नयाँ किताब ढुवानी गर्न समस्या भएको बताएका छन् । अहिलेसम्म प्रदेशको गोदामबाट २० प्रतिशत मात्र पाठ्यपुस्तक वितरण भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७