राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे


२० चैत्र २०८०, मंगलवार
1669175735 surendraraj pandy 1200x560 1

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (मंगलबार) राजीनामा दिने तयारी गरेका छन् । दुई दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका पाण्डेले विश्वासको मत पाउने अवस्था नदेखेपछि आजै राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनायो ।

नेकपा (माओवादी केन्द्र) ले पाण्डेलाई दिएको समर्थन गत फागुन २३ गते फिर्ता लिएको थियो । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गण्डकी प्रदेश सभा नियमावलीको नियम १५० अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन दुई दिन अगाडि नै सूचना संसद सचिवालयलाई दिनुपर्छ । तर मुख्यमन्त्री पाण्डेले अहिलेसम्म कुनै सूचना दिएका छैनन् । मुख्यमन्त्रीले विश्वासको मत लिने हो भने आज अपराह्नसम्ममा सूचना पठाई सक्नुपर्ने छ ।

मुख्यमन्त्री पाण्डेले अहिलेसम्म विश्वासको मत लिने बारे संसद सचिवालयलाई जानकारी नदिएकाले उनले राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ । उनी राजीनामा दिएर पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने तयारीमा लागेको पनि बताइएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का ८ (सभामुखसहित), राप्रपाका २ र स्वतन्त्र सांसद एक जना रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७