पाण्डेको प्रश्न : शिक्षामन्त्रीले जस्तै गृहमन्त्री र रक्षामन्त्रीले प्रशिक्षार्थी प्रहरी–सेना राख्छु भने के हुन्छ ?

‘प्रधानमन्त्रीले मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट दिनु भएको हो ?’


२० चैत्र २०८०, मंगलवार
rajendra sumana

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले ल्याएको शिक्षा उत्प्रेरक परिचालनसम्बन्धी नीतिप्रति आपति जनाएका छन् । प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा बोल्दै सांसद पाण्डेले उक्त नीति ७४ हजार निजामती कर्मचारीलाई ‘प्यारालाइज’ गर्न ल्याइएको टिप्पणी गर्दै विरोध जनाएका हुन् ।

केही दिनअघि शिक्षा मन्त्री श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गरेर शिक्षा उत्प्रेरक परिचालनसम्बन्धी कार्यविधि २०८० ल्याएकी थिइन् । जसमा उच्च शिक्षा अध्ययनरत युवालाई प्रशिक्षार्थीका रुपमा कामकाज गर्न मिल्ने गरी व्यवस्था छ । ‘मन्त्रालयको आवश्यकता, महाशाखागत कार्यचाप, विषयगत क्षेत्र र प्रशिक्षार्थीको रुची अनुसार प्रशिक्षार्थी शिक्षा उत्प्रेरक परिचालन गरिनेछ भनिएको रहेछ,’ सांसद् पाण्डेले भने, ‘मन्त्रालयका कतिपय शाखा कामविहीन भएका बेला शिक्षा मन्त्रालयमा भएका निजामती कर्मचारीलाई अविश्वास गर्दै प्रशिक्षार्थीलाई काम दिने ? यो ७४ हजार निजामती प्रशासनलाई प्यारालाइज गर्न ल्याएको नीति हो ।’

उक्त कार्यविधि कुनै ऐनअनुसार नै नभएको सांसद् पाण्डेको दाबी छ । उनले थपे, ‘यसरी बाहिरबाट आफूखुसी कर्मचारी भर्ती गर्नु कर्मचारीतन्त्रमाथि हस्तक्षेप हो । यसले इमानपूर्वक काम गरिरहेका कर्मचारीको मनोबल के हुन्छ ?’ यो कार्यविधिले मन्त्री श्रेष्ठ अलग ढङ्गबाट हिँड्न खोजेको सांसद् पाण्डेले टिप्पणी गरेका छन् । मन्त्रालय तथा सार्वजनिक निकायमा कैयौँ गोप्य राख्नुपर्ने कागजात हुने बताउँदै सांसद् पाण्डेले प्रशिक्षार्थी उत्प्रेरक मन्त्रालयका कर्मचारी सँगसँगै बसेर काम गर्दा ती ‘गोप्य कागज दुरुपयोग हुन्छ कि हुँदैन ?’ प्रश्न गरेका छन् ।

शिक्षामन्त्री श्रेष्ठको यो कदमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेरिरहेका छन् कि छैनन् भनेर सांसद पाण्डेले प्रश्न समेत गरेका छन् । ‘कि सबै मन्त्रीलाई आफूखुसी गर्न छुट छ ?,’ उनले प्रश्न गरे । यसैगरी सबै मन्त्रीले कर्मचारीले सहयोग गरेन भन्दै आ–आफ्नै कर्मचारी राखेर काम गर्न खोजे देश कहाँ पुग्छ भनेर पनि सांसद् पाण्डेको प्रश्न थियो । ‘मेरो अण्डरका पुलिसले काम गरेनन्, म प्रशिक्षार्थी पुलिस राख्छु भनेर गृहमन्त्री भने के हुन्छ,’ उनले भने, ‘यसैगरी रक्षामन्त्रीले प्रशिक्षार्थी सेना भर्ना गर्छु भन्न पाउने कि नपाउने रु यसले देशलाई कहाँ पु¥याउँछ ?’ सांसद् पाण्डेले यी प्रश्नको जवाफका लागि शिक्षामन्त्री श्रेष्ठलाई रुलिङ गर्न सभामुखलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७