इलाम र बझाङको उम्मेदवार छान्न आज पनि कांग्रेसको वैठक बस्दै


२१ चैत्र २०८०, बुधबार
congress

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) पनि बस्ने भएको छ । बैठकले इलाम निर्वाचन क्षेत्र नं. २ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको उम्मेदवार छान्ने छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मङ्गलबार बसेको संसदीय बोर्डको बैठकमा प्रदेश कार्यसमितिले सिफारिस गरेका उम्मेदवारको नामावलीमाथि छलफल भएको छ । कांग्रेस नेता मीनबहादुर विश्वकर्माले भने, ‘उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा बुधबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्छ ।’

हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय हुन सकेको थिएन । देउवाले बैठकमा इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन ।

नेता कोइराला र थापाले इलाम–२ मा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने मत राखेका थिए । महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बेले गरेको इलाम–२ को अध्ययन रिपोर्टमा खड्कालाई उम्मेदवार बनाउन उपयुक्त हुने आशय थियो । नेता कोइराला र महामन्त्री थापाले आचार्यको नाममा अडान लिएपछि बैठक निष्कर्ष टुङ्गिएको छ ।
इलाम–२ बाट निर्वाचित एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते र सुदूरपश्चिम प्रदेश सभाका लागि बझाङ क्षेत्र नं. १ (क) बाट निर्वाचित कांग्रेस नेता पृथ्वीबहादुर सिंहको गत असार २५ गते दुर्घटनामा निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन तय भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७