लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै, छैन ढुक्क हुने अवस्था


२२ चैत्र २०८०, बिहीबार
dilli chaudhary congress lumbini1672629994

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज (बिहीबार) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि प्रदेशमा पनि माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फागुन २३ गते फिर्ता लिएको थियो । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन् ।

चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभाको अंक गणितले उनले विश्वासको मत पाउने सम्भावना न्यून देखाउँछ । तर साना दलहरूसँगको छलफल जारी रहेको केही सकारात्मक बनेको तर त्यति ढुक्क हुन सक्ने अवस्था नरहेको कांग्रेसका एक सांसद बताउँछन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री इन्द्रजित थारुले मुख्यमन्त्री चौधरीले दलहरूलाई प्रभावमा पार्न खोजे पनि त्यो सम्भावना नरहेको दावी गरे । गठबन्धनको शीर्ष नेताहरूबीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री माओवादीले पाउने समझदारी बनिसकेको छ । त्यसअनुसार माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बन्न तयार भएर बसेका छन् ।

उनले आफ्नो पक्षमा बहुमत जुटिसकेको दाबी समेत गरेका छन् । उनले सत्ता गठबन्धनका ४७ सांसद रहेको र नागरिक उन्मुक्तिसँग पनि छलफल चलिरहेको बताए । ‘मेरो पक्षमा सत्ता साझेदार दलहरु एक ढिक्का छन् अब कसैले त्यो तोड्न सक्ने अवस्था छैन,’ महराले भने, ‘त्यसका साथै अन्य दलहरुलाई पनि मनाउने प्रयास जारी छ ।’

रोल्पाका महरा यसअघि एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा लगभग तीन महिना अर्थमन्त्री बनेका थिए । २०७९ पुस २७ गते एमालेका गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यतिबेला माओवादी र एमाले बीचको गठबन्धन भत्किएपछि वैशाख १४ गते माओवादीको समर्थनमा चौधरी मुख्यमन्त्री बनेका थिए । कांग्रेससँगको गठबन्धन पनि टुटेपछि अब समीकरण फेरिएको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४-४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३-३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १-१ र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७