एमालेले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार बनाउने


२२ चैत्र २०८०, बिहीबार
Bimala ghimire

काठमाडौं । सत्तारुढ नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रियसभा दल नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘सत्ता गठबन्धनमा हामीले पाउने सहमति भइसकेको थियो’, उनले भने, ‘त्यसअनुसार हामीले उम्मेदवार टुंगो लगाएका हौं ।’

सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उसले उपाध्यक्षमा दाबी ग¥यो र पाँच दलले गरेको सहमतिमा उपाध्यक्ष एमालेले लिने सहमति हटाइएको थियो । एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले राष्ट्रियसभा उपाध्यक्षमा आफूहरूको दाबी कायमै रहेको बताएका छन् । उनले भने, ‘हाम्रो दाबी हो । तर, अहिलेसम्म गठबन्धनको यो विषयमा थप छलफल भएको छैन ।’

उनले आफूहरूले पाए राष्ट्रियसभामा रहेका पार्टीका शीर्ष नेताहरूलाई नै प्राथमिकता दिने बताए । राष्ट्रियसभामा नेकपा एसकी उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी शाह पनि छन् । राई विधायन व्यवस्थापन समितिको सभापति भएकाले शाहलाई सार्न सक्ने चर्चा छ । सत्ता गठबन्धनमा माओवादीले अध्यक्ष लिएपछि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो । तर, नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमा जोडिएपछि उपाध्यक्षमा दाबी गरेपछि यो विषय सहमतिबाट हटाइएको थियो । राष्ट्रयसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७