दुई समुदायबीचको झडपले भुटाहा तनावग्रस्त : ५१ राउण्ड फायर, केही घाइते


२३ चैत्र २०८०, शुक्रबार
sunsari jhadap 2

सुनसरी । आज (शुक्रबार) बिहानबाट अशान्त बनेको सुनसरीको भुटाहा बजार तनावग्रस्त बनेको छ । हिन्दु र मुस्लिम समुदाय भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रण बाहिर गएको हो ।

दिउँसो १ बजेपछि शुरु भएको तनाव झडपमा परिणत भएको छ । तनावग्रस्त क्षेत्रमा बाक्लो सुरक्षा तैनाथ भए पनि दुई पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने अवस्थाको सिर्जना भएको छ । प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्‍याएका छन् । सुनसरी प्रहरीले दिएको जानकारीअनुसार अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको छ ।

sunsari jhadap 1

दुई जनालाई गोली लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । अश्रुग्यास र हवाई फायर के कति भएको भन्ने विषय यकिन भइ नसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले निषेधाज्ञाका बाबजुद भीड नियन्त्रणमा आउन नसकेको बताएका छन् । उनले अवस्था नियन्त्रणमा लिन हरसम्भव प्रयास भइरहेको बताए ।

यसैबीच अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ । दलीय प्रतिनिधि सहितको उपस्थितिमा प्रशासन कार्यालयमा बसेको बैठकले अनियन्त्रित बन्दै गएको भीडलाई संयमता अपनाउन पहल गरिदिन सरोकारवालासमक्ष आग्रह गरेको छ । कोशी प्रदेशका तीन वटै सुरक्षा निकायका डिआइजी समेतको उपस्थितिमा इनरुवामा सम्पन्न बैठकले अवस्था थप नियन्त्रण बाहिर जाने देखिए सुरक्षाकर्मीले बल प्रयोग गर्नसक्ने चेतावनी दिएको छ ।

जारी तनाव र प्रदर्शन दक्षिणी भेग हुँदै आसपासका शहर बजारमा समेत बढ्दै गएको छ । दुई समुदायका प्रदर्शनकारी आपसमा भिडेपछि भुटाहा बजारसँगै गौतमपुर, देवानगञ्ज लगायत दक्षिणी भेगका अधिकांश क्षेत्र तनावग्रस्त बनेको छ । यो समाचार तयार पार्दासम्म सुनसरी प्रशासनले हरिनगर गाउँपालिकाका सबै वडा र देवानगञ्जको १ र २ नम्बर वडालाई लक्षित गरी निषधाज्ञा जारी गरेको छ । आवश्यक्ताअनुसार दायरा बढाउने वा थप कडाईको आदेश गर्नसक्ने जनाएको छ ।

sunsari jhadap 3

भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थियो । घाइते जीवन मेहता धरानमा उपचाररत छन् । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको विरोधमा आज बिहानैबाट प्रदर्शन चर्काएका थिए ।

मुस्लिम समूहका युवाको कुटपिटमा परेका हिन्दु युवाले मुस्लिम धर्मसँग सम्बन्धित उश्रृङ्खल अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोही कारण उनीमाथि आक्रमण भएको बुझिएको छ । घटना विषयमा हिन्दु र मुस्लिम दुवै पक्षले आफ्नो पक्षको अडान राख्दै आएका छन् । जसले आज दई समुदायबीच झडपको अवस्था निम्त्याएको हो । घटनामा बाहिरी जिल्लाबाट मानिस आउन प्रशासनले कडाई गरे पनि विरोधमा सामेल हुन आउनेको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७