उम्मेदवारी दर्ताअघि सुहाङले गरे इलाममा शहीद रत्न–बम र भानुको शालिकमा माल्यार्पण


२४ चैत्र २०८०, शनिबार
suhang

इलाम । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत इलाममा उम्मेद्वारको उम्मेदवारी दर्ता शुरु भएको छ । नेकपा एमालेका तर्फबाट इलाम–२ उम्मेद्वार सुहाङ नेम्वाङ उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । एमालेले साढे १ बजे उम्मेदवारी दर्ता गराउने तयारी छ । उम्मेदवारी दर्ताअघि एमाले उम्मेदवार सुहाङले इलामको ठूलो टुँडिखेलस्थित शहीद रत्नकुमार वान्तवा, बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका छन् ।

उपनिर्वाचनमा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो क्रममा उम्मेदवारी दर्ता गरेको छ । जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप) ले शुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारीअघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दोस्रो क्रममा उम्मेदवारी दर्ता गरेको छ ।

नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराएका हुन् । जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् । तेस्रोमा डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । गौतमले यस पटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा गौतम नेपाली कांग्रेस (विपी) बाट इलाम–२ मा उम्मेदवारी दिएका थिए । उनले ५४ मत प्राप्त गरेका थिए । रास्वपाबाट केहीबेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसले साढे दुई बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७