गण्डकीका सभामुख धिताल भन्छन्–सरकार गठनमा मैले हस्ताक्षर गरेको छैन


२५ चैत्र २०८०, आईतवार
krishna dhital

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले सरकार गठनमा आफ्नो भूमिका नरहेको बताएका छन् । सभामुख धितालले आइतबार सरकार गठनमा आफ्नो भूमिका नरहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

सभामुख धितालले भने, ‘म पार्टीमा छैन । सभामुखको भूमिकामा छु । मेरो सहमति त्यसमा छैन । समर्थन गर्न पनि मिल्दैन ।’ सभामुख धितालले आफू दलको सदस्य नभएको कुरा प्रदेश प्रमुखले जान्नुपर्ने बताएका छन् । ‘सभामुख भएपछि दलको सदस्यता त्याग्नै पर्‍यो,’ उनले भने, ‘दलको सदस्यता त्यागेका सभामुख सत्ताको जोड–घटाउमा जोड्न हुँदैन भन्ने कुरा प्रदेश प्रमुखले जान्ने कुरा भयो नि! त्यो त हाम्रो कुरा भएन ।’

एमाले नेता अधिकारीले आइतबार सभामुख धिताललाई समेत जोडेर बहुमत रहेको भन्दै मुख्यमन्त्री दाबी गरेका थिए । उनले एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ जोडेर मुख्यमन्त्री दाबी गरेका थिए । अधिकारीले मुख्यमन्त्री दाबी गरेपछि नेपाली कांग्रेसले सभामुखलाई सत्ताको जोडघटाउमा प्रयोग गरेको भन्दै प्रदेश प्रमुखसमक्ष असहमति पत्र बुझाएको थियो । सचेतक नन्दप्रसाद न्यौपानेले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएका थिए ।

कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले सांसदको हस्ताक्षर सनाखत गरेर मात्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख भट्टलाई आग्रह गरेका थिए । कांग्रेसको विरोधका बावजुद प्रदेश प्रमुख भट्टले एमाले नेता अधिकारीले माग गरे अनुसार संविधानको धारा १६८ उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका छन् ।

सभामुख धितालले निर्वाचन आयोगले माओवादी केन्द्रलाई ८ जना प्रदेश सांसद संख्या रहेको विवरण दिएको बताए । आफू सभामुख निर्वाचित भएपछि सत्ताको जोडघटाउमा नरहेको भन्दै उनले यस विषयमा कानुन पनि स्पष्ट नभएको दाबी गरेका थिए । ‘दाबी त जसले जे पनि गर्न सक्यो, निर्वाचन आयोगले दिएको रेकर्डका आधारमा सरकार दाबी गरिएको रहेछ,’ उनले भने, सरकार बनाउन मैले हस्ताक्षर गरेको छैन, मैले दलको सदस्यता त्यागेको कुरा प्रदेश प्रमुखलाई थाहा हुनुपर्छ ।’ सभामुख भइसकेपछि धितालले आफू आबद्ध माओवादी केन्द्रको आबद्धता त्यागेको घोषणा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७