कांग्रेस बैठकको निष्कर्ष : सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनै पर्छ

‘सहकारी ठगीमा हाम्रो अडान कायम छ, गृहमन्त्री बोल्नुको अर्थ छैन’


२६ चैत्र २०८०, सोमबार
deuwa Rabi

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनु पर्ने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज (सोमबार) बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने अडानमा लिएको हो ।

‘सहकारी प्रकरणलाई निष्पक्ष रूपमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हाम्रो पहिलेदेखिकै बटमलाइन हो, यसैलाई कायम राख्ने निष्कर्ष छ,’ बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने, ‘यस प्रकरणमा संसदीय छानबिन समिति बनाउनै पर्छ ।’ संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले यसबारे थप छलफलका लागि संसदीय दलको बैठक पनि डाकेका छन् । प्रवक्ता महतका अनुसार मंगलबार बिहान नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्नेछ ।

सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सोमबार दिउँसो २ बजे छलफल गर्ने तयारी गरेका छन् । उक्त छलफलमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति देउवा, सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ ।

कांग्रेसका तर्फबाट छलफलमा सभापति देउवा र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनेछन् । कांग्रेसले यसअघि बसेको प्रतिनिधि सभा बैठकमा आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति ल्याउनुपर्ने भन्दै ‘अल्टिमेटम’ दिएको थियो । उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएकोले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको आवश्यकता रहेको कांग्रेसले बताउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७