रञ्जिताको रोकिएन ‘एक्सन’ : घनश्यामको खोसियो जिम्मेवारी, कैलाश बने दलको नेता


२७ चैत्र २०८०, मंगलवार
Ranjita

काठमाडौँ । गत फागुन २१ गते केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेदेखि नागरिक उन्मुक्ति पार्टीमा चर्केको विवाद साम्य हुने कुनै संकेत छैन । संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीचको शक्ति संघर्ष खासगरी सुदूरपश्चिम प्रदेशमा छताछुल्ल भएको छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनकै पक्षमा रहेका रेशम र नयाँ गठबन्धनलाई साथ दिनुपर्ने अडानमा रहेकी रञ्जिताबीचको विवाद झनझन चरम अवस्थामा पुगेको छ । सोमबार मात्रै नेपाली सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना सोमबार टाँसेका थिए ।

नाउपा अध्यक्ष रञ्जिताले गत चैत २१ गते पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रहेकी गिरीलाई कारबाही गरेकी थिइन् । उनले गरेको कारबाहीलाई मान्यता दिँदै गिरीको सांसद पद गएको सूचना सोमबार प्रदेश सभा सचिवालयमा टाँसिएको छ ।

गिरीले सांसद पद गुमाएकै दिन सोमबार नाउपा संसदीय दलका नेता घनश्याम चौधरी पनि कारबाहीमा परेको पत्र सार्वजनिक भएको छ । नाउपा प्रदेश सभामा संसदीय दलका नेता घनश्याम चौधरीलाई रञ्जिताले हटाइदिएकी छन् । घनश्यामलाई दलको नेताबाट हटाएर अर्का सांसद कैलाश चौधरीलाई जिम्मेवारी दिइएको छ ।

घनश्याम कांग्रेसबाट मुख्यमन्त्री बनेका कमल शाह नेतृत्वको सरकारका आर्थिक मामिला मन्त्री समेत हुन् । उनी रेशमलाई साथ दिएर मन्त्री बनेका हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी छन् ।

अध्यक्ष चौधरीले केन्द्रीय समितिको बैठकको निर्णयलाई टेकेर यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा दलको निर्देशन पालना नगरेको जनाएकी छन् । अब उनलाई हटाएर सुदूरपश्चमिमा कैलाश चौधरीलाई संसदीय दलको नेताका काम गर्ने जिम्मेवारी तोक्ने निर्णय गरिएको रञ्जिताले जनाएकी छन् ।

अध्यक्ष चौधरीले संसदीय दलको विधानसमेत पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षका हैसियतमा आफैंमा निहित रहेको जनाइसकेकी छन् । सुदूरपश्चिममा नाउपाका ७ सांसद छन्। जसमा ५ जना रेशम पक्षमा र २ जना रञ्जिताको पक्षमा उभिएका छन् । रञ्जिताले अब प्रदेशमा आफ्नो पक्षमा बहुमत जुटाउने कसरत थालेकी छन् ।

nagarik

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७