गायिका मेनुका पौडेललाई एक लाखसहित सम्मान


२७ चैत्र २०८०, मंगलवार
menuka paudel

काठमाडौं । सिस्नुपानी नेपालले गायिका मेनुका पौडेललाई सम्मान गरेको छ । घोडेजात्राका अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘राष्ट्र’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गायिका पौडेललाई एक लाख रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरेका हुन् ।

सिस्नुपानी नेपालको आयोजना तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा देशका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा करिब ३ घण्टा भएको उक्त कार्यक्रममा विभिन्न प्रस्तुति देखाइएको थियो । कार्यक्रमा टीकाराम यात्रीको स्वरमा वृत्तचित्र प्रस्तुति, सात प्रदेशका प्रतिनिधि संगीत, अन्तरा समूहले सुनाएको थियो ।

‘राष्ट्र’ शीर्षकको गीत शिशिर योगीले गाएका थिए भने उक्त गीतको शब्द भने टंक आचार्यको थियो । संगीत संयोजन अशोक राईको थियो । सीता सुवेदी र सरोज लामिछानेले विशेष नृत्य र चित्रकला देखाएका थिए भने लक्ष्मण गाम्नागे र अर्जुन पराजुलीले कविता प्रस्तुत गरेका थिए ।

अबको नेपालबारे प्रेन्सा रेग्मीले आफ्नो विचार प्रस्तुत गरेकी थिइन् भने मिथिला नाट्य परिषद्ले देशभक्त झल्किने मिथिला नृत्य देखाएको थियो । कार्यक्रममा सम्मानित चर्चित गायिका पौडेलले राष्ट्र गायन गरेकी थिइन् भने नेपाली सेनाले जय जय जय गोर्खाली शीर्षकको गीतमा राष्ट्रभक्ति नृत्य देखाएको थियो ।

मनोज गजुरेल र चक्र दवाडीले सहिदगेट शीर्षकममा प्रस्तुति दिएका थिए । कार्यक्रमको अन्त्यमा भक्तराज आचार्य स्मृति गीत प्रस्तुत गरिएको थियो । जसमा दीप श्रेष्ठ, दीपक खरेल, मीरा राणा, मुरलीधर, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, संगीता राना प्रधान, लोचन भट्टराई, कुन्ति मोक्तान, देविका बन्दना, आनी छोइङ, धिरेन्द्र प्रेमर्षि, सत्यराज र स्वरुपराज आचार्यले सामूहिक प्रस्तुति दिएका थिए ।

कार्यक्रमका परिकल्पनाकार तथा संयोजक टंक आचार्यले राष्ट्र हामी सबैको आस्था र आमा रहेको उल्लेख गर्दै भूगोल, जनता, सरकारभन्दा माथि राष्ट्र रहनुपर्ने सन्देश दिन कार्यक्रम निर्माण गरेको बताए ।

‘राष्ट्र भन्नु मूर्त कुराका साथै अमूर्त भाव र सम्मान पनि हो। आज यति सुन्दर राष्ट्र छोडेर जीविकोपार्जनका लागि विदेशीने कर्मशील नेपाली र सधैँका लागि विदेश पलायन हुनेको संख्या निकै बढेको छ । कतिपय नागरिक यसै राष्ट्रमा बसेर पनि निराशाको बादलमा रूमलिएको पाइन्छ । राष्ट्र निर्माणमा अतुलनिय योगदान दिने कति व्यक्ति र विषय ओझेलमा परेका छन्’, संयोजक आचार्यले भने, ‘यसै सन्दर्भमा नेपाली समाजको एकता र समृद्धि राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिभाव एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्नने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा कार्यक्रम गरिएको हो । मानव मूल्य र इतिहासप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भविष्यको बाटो प्रस्तुत हुने गरी साहित्य कला र विचारको कार्यक्रम गरिएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७