रविमाथि खनिए लिङदेन : एक रुपैंयाँ भ्रष्टाचार गरेको छैन भनेर मन्दिर छिर्ने ताकत छ ?

‘प्रधानमन्त्रीलाई देशको भन्दा गोरखा–२ को चिन्ता छ, विदेशीको चाकडीमा व्यस्त छन्’


२७ चैत्र २०८०, मंगलवार
rajendra

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि आक्रोश व्यक्त गरेका छन् । आज (मंगलबार) आफूहरूले प्रदर्शन गर्ने क्रममा रोकेको भन्दै उनले थापाथलीमा आयोजित सभामा आक्रोश पोखेका हुन् ।

उनले पहिलो दिनको कार्यक्रममा बल प्रयोग गरिए पनि आफूहरू पछि नहट्ने बताए । आफूहरुको शान्तिपूर्ण प्रदर्शनमा लाठीचार्ज र बल प्रयोग गरिएको भन्दै उनले यो दिनलाई सम्झनामा राखिरहने बताए । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले रोक्दा झडप भएको थियो । प्रहरीले पानीको फोहोरा, अश्रुग्यासका साथै लाठीचार्ज गरेको थियो । नेपाली कांग्रेस र नेकपा (एमाले) माओवादीको मुद्दामा हिँडेको र पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि त्यही एजेण्डामा आइपुगेको आरोप उनले लगाए ।

उनले आफूहरूले देशलाई पछाडि फर्काउने कुरा नगरेको बताए । नयाँ सम्झौताका निम्ति तयार रहन उनले आग्रह गरे । ‘नयाँ सम्झौताका लागि तपाईंहरू तयार हुनुुस् । होइन भने तपाईंहरू भाग्न तयार हुनुस्’, उनले भने, ‘देशले यो स्थिति धान्न सक्दैन । आफ्ना युवा बेचेर देश कसरी चलाउनु हुन्छ ?’ ठूला भनिएका सबै पार्टीले मिलेर भ्रष्टाचार गरेको आरोप समेत उनले लगाए । उनले गृहमन्त्री लामिछानेलाई निर्मला पन्तको हत्या गर्ने व्यक्ति को हो ? भनी प्रश्न समेत गरेका छन् ।

‘नयाँ भन्नेहरूले कस्तो फुर्तीसाथ भनेका थिए, सबैभन्दा पहिले भनेका थिए– सबैभन्दा पहिले निर्मला हत्याकाण्डको अपराधी पत्ता लगाउँछु भनेर आदेश दिएको होइन ?’, उनले प्रश्न गरे, ‘कहाँ पुग्यो तपाईंको आदेश ? को हो निर्मला हत्याकाण्डको अपराधी ? नक्कली कुराहरू धेरै दिन टिक्दैन ।’ उनले सहकारीको रकम ठगी प्रकरणमा लामिछानेमाथि छानबिन नै गर्न नहुने कुन देशको व्यवस्था हो ? भनी थप प्रश्न गरे ।

उनले आफू मात्र जान्ने, आफू मात्र लोकप्रिय र आफू मात्र इमान्दार भन्ने भ्रम नपाल्न गृहमन्त्रीलाई आग्रह गरे । बरु उनले गृहमन्त्रीलाई चुनौती दिए, मैले भद्रकाली अगाडि उभिएर भनेको छु, यति लामो राजनीतिक यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु । तपाईंले त्यो तागत राख्नुहुन्छ ?

शान्तिपूर्ण प्रदर्शन गर्न दिनुस्, निषेधित क्षेत्र हटाउनुस् भन्दा राज्यशक्तिको तागत देखाएको भन्दै उनले भने, निहत्था मान्छेहरुमाथि आक्रमण गरेर देखिस् म गृहमन्त्री हुँ भनेर बहादुरी देखाउने ? तपाईंका दिन पनि हेरौंला ।’ ‘सुशासनको कुरा अरूलाई मात्र लागु हुने, तपाईंलाई लागु नहुने भन्ने हुन्न गृहमन्त्री ज्यू । देशले प्रश्न उठाइराखेको छ । सहकारीको विषयमा तपाईंले सफाइ दिनु पर्दैन ? तपाईंले छानबिनका लागि बाटो खोलाउनु पर्दैन ?’ उनले प्रश्न गरे, ‘रवि लामिछानेलाई छानबिन नै गर्नु नपर्ने कुन देशको व्यवस्था हो ?’ कुकर्म ढाकछोप गर्न वर्तमान सत्ता गठबन्धन बनाइएको उनले आरोप लगाए ।

०४६ सालपछिका राजनीतिक नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र त्यो कार्य आफूबाट थाल्न उनको आह्वान गरे । अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री विदेशीको चाकडीमा लिप्त भएको आरोप समेत लगाएका छन् । उनले नेपालका राजनीतिक दलहरु विदेशीको शसारामा चलिरहेको बताए ।

उनले भने, ‘अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्छ । तर, उहाँलाई देशको भन्दा गोरखा–२ को चिन्ता छ । अहिलेको प्रधानमन्त्री एउटा निर्वाचन क्षेत्रको हुन्छ । तर, सिंगो देशवासीले चुनेको प्रधानमन्त्री भयो भने त्यो प्रधानमन्त्रीले देशको बारेमा चिन्ता गर्छ । त्यो देशप्रति उत्तरदायी प्रधानमन्त्रीले विदेशीहरुसँग कुरा गर्दा पनि हैसियतमा कुरा गर्छ । अहिले कुन पार्टी कुन विदेशीहरुले चलाइदिएको छ भन्ने कुरा भन्ने थाहा हुँदैन । कुन पार्टीलाई कहाँ छुटाइदेला, सरकारबाट लडाइदेला भनेर प्रधानमन्त्री विदेशीको चाकडीमा व्यस्त हुनुहुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७