कांग्रेसको विरोधले स्थगित प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, चल्ने सम्भावना न्यून


२८ चैत्र २०८०, बुधबार
samsad

काठमाडौं । संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयसँग सम्बन्धित रहेर सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची पनि रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । तर, आजको बैठक चल्नेमा भने निश्चित छैन । कारण, यसअघि मङ्गलवार बसेको बैठक प्रतिपक्षी नेपाली कांग्रेसका कारण स्थगित गरिएको थियो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने काँग्रेसको अडान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७