बागमतीका मेयर थापाविरुद्ध अवैध अकुत सम्पत्ति आर्जनमा भ्रष्टाचार मुद्दा


२८ चैत्र २०८०, बुधबार
Bharat Thapa

सर्लाही । सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापालाई ५ करोड ३३ लाख ५३ हजार १८१ रूपैयाँ बिगो दाबी गर्दै आज मुद्दा दायर गरेको हो ।

२०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधि हिसाब गर्दा उनको कुल वैध आय ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ देखिएको तर १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ खर्च देखिएकाले आम्दानी र खर्च मेल नखाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । माओवादीका थापा यस कार्यकालका लागि पनि मेयर निर्वाचित भएका छन् ।

अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ । थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेको अख्तियारले बताएको छ । सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।

bharat

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७