सिँचाइ सुविधाले हराभरा बन्दै गेखुङ फाँटका खेत


२८ चैत्र २०८०, बुधबार
sichai

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–८ तुराङस्थित गेखुङ् फाँटको खेतमा सिंचाइ सुविधा पुगेपछि यतिबेला हराभरा भएको छ । सिंचाइ अभावले हिउँदमा उजाड बन्ने खेतका फाँटमा यसवर्ष चैत महिनामा पनि मकैको बिरुवा उम्रिएका छन् ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको आयोजनामा हुग्दीखोला‐तुराङ सिंचाइ योजनाअन्तर्गत पक्की नहर निर्माण भएपछि वर्षौदेखि बाँझिएका खेत सिंचित भएका हुन । बाबुल पन्थ जेभी कम्पनीले रु एक करोड ९० लाखको ठेक्का मार्फत उक्त सिंचाइ योजना सम्पन्न गरेको हो ।

सिंचाइ अभावमा अलपत्र उत्पादनशील गेखुङ र तुराङफाँटमा सिंचाइ सुविधा पुगेपछि ठूलो राहत मिलेको स्थानीय उपभोक्ता भुबन बस्नेतले बताए । सिंचाइ योजनाको काम सम्पन्न गर्ने म्यादभन्दा एक महिना अगावै निर्माण व्यवसायीले सम्पन्न गरेका थिए । बाँझिएका खेतमा नहरको पानी पुगेपछि किसान निकै खुसी र उत्साहित बनेको हुग्दीखोला‐तुराङ सिंचाइ योजना उपभोक्ता समिति अध्यक्ष लोकनाथ पोख्रेलले बताए ।

सिँचाइ योजनाअन्तर्गत मूल नहरको लम्बाइ चार हजार छ सय मिटर छ । नहरबाट ८५ हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ पुगेको छ । सिंचाइले त्यस क्षेत्रका एक सय ४४ घरधुरीका एक हजार एक सय ७९ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित बनेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख भरतप्रसाद सापकोटाले बताए । निर्माण व्यवसायी गगन केसीले सम्झौता समय अगावै योजना सम्पन्न गरेपनि भुक्तानी पाउन नसकेको बताए ।

आवश्यकताभन्दा न्यून बजेट प्राप्त भएको र थप बजेट निकासा हुन नसकेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय प्रमुख सापकोटाले बताए । उनले थप बजेटका लागि मन्त्रालयमा पहल गरिएको जानकारी दिए । पहाडी जिल्ला भए पनि गुल्मीका हजारौँ हेक्टर उत्पादनशील फाँटमा अझै सिंचाइ सुविधा पुग्न सकेको छैन । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७