म नयाँ पात–मुना पलाओस् भन्छु, कांग्रेस मति बिगारिरहन्छ : अध्यक्ष ओली

‘राजनीतिक अस्थिरताले राष्ट्रियता कमजोर हुँदै गयो’


२९ चैत्र २०८०, बिहीबार
oli 1

ताप्लेजुङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्थिरताका कारण राष्ट्रियता कमजोर भएको बताएका छन् । गत निर्वाचनमा कसैको बहुमत नआउँदा अस्थिरता सिर्जना भएको र अस्थिरताले राष्ट्रियता कमजोर हुँदै गएको ओलीले बताएका हुन् ।

आज (बिहीबार) ताप्लेजुङ आएका अध्यक्ष ओलीले अस्थिरताको अन्त्य गर्न र राष्ट्रियता मजबुद बनाउने लक्ष्यसहित एमालेले ‘मिसन २०८४’ को अभियान सुरु गरेको बताए । सदरमुकाम फुङ्लिङस्थित एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने र राजनीतिक अस्थिरताको अन्त्य गर्ने दाबी गरे ।

एमालेले एकल बहुमत ल्याउने गरी मिसन २०८४ अभियान सुरु गरेको उनले बताएका छन् । पार्टीले लिएको लक्ष्यअनुसार मिसन २०८४ लाई सफल बनाउनेगरी एक ढिक्का भएर अभियानमा लाग्न कार्यकर्तालाई उनले निर्देशन पनि दिए । उनले साना–तिना विषयमा अलमल नगरीकन जनप्रतिनिधिसहितका कार्यकर्तालाई पार्टीको योजनामा सक्रिय हुन आग्रह गरे । उनले मिसन २०८४ को लक्ष्य पूरा गर्न आफूलाई केन्द्र राख्ने प्रवृत्तिको अन्त्य गर्न कार्यकर्तालाई आग्रह गरे । कांग्रेसलाई पात झरेर थोत्रो भइसकेको रुखको संज्ञा दिँदै ओलीले भने, ‘म कांग्रेसको पात नझरोस् र झरेको पातमा नयाँ मुना पलाओस् भन्छु, काँग्रेस मति बिगारिरहन्छ ।’

अध्यक्ष ओलीले यसअघि एमालेविरुद्ध गठबन्धन गरिएकाले अस्थिरता बढ्नुका साथै राष्ट्रियता झनै कमजोर भएको जिकिर पनि गरे । अघिल्लो गठबन्धनकै कारण देशमा विकास निर्माण ठप्प भएको, अर्थतन्त्र धराशायी बनेको, भ्रष्टाचार मौलाएकोजस्ता आरोप पनि उनले लगए । अब भने एमालेसहितको नयाँ गठबन्धन सरकार निर्माण भएकाले विकास निर्माण चलायमान हुने, अर्थतन्त्रमा सुधार हुँदै जाने र भ्रष्टाचार जस्ता बेथिति नियन्त्रण हुँदै जाने उनले बताए ।

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीसँगै आएका उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि वर्तमान सरकारले विकास निर्माणसहित देशको हितलाई केन्द्रमा राखेर काम गर्न सुरु गरेको बताए । नयाँ गठबन्धन सरकार बनेपछि विकास निर्माणको कामले गति लिन सुरु गरेको र जनतामा सुशासनको प्रत्याभूति हुन थालेको मन्त्री महासेठले दाबी गरे ।

ओलीसँगै एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, रक्षामन्त्री हरि उप्रेती लगायतका एमाले नेताहरू बिहीबार ताप्लेजुङ आएका हुन् । एमाले ताप्लेजुङको पार्टी कार्यालय तथा मदन भण्डारी स्मृति प्रतिष्ठानको नव निर्मित भवनको उद्घाटन गर्न उनीहरू ताप्लेजुङ आएका हुन् । पूर्व प्रधानमन्त्री ओलीसहितको टोलीले निर्माणाधीन ताप्लेजुङ–टिपताला तमोर कोरिडोर सकडको निरीक्षण गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७