हिंडेरै अस्पताल गएकी युवतीको पाठेघर सफा गर्दा मृत्यु, कर्णाली प्रदेश अस्पतालमा तनाव


३० चैत्र २०८०, शुक्रबार
death

सुर्खेत । आफै हिंडेर उपचारका लागि पुगेकी एक युवतीको ज्यान गएपछि कर्णाली प्रदेश अस्पतालमा तनाव भएको छ । पश्चिम दैलेख आठबीस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामी पेट दुखेपछि उपचारका लागि केही दिनअघि सुर्खेत आइन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित एक निजी अस्पतालमा चेकजाँच गराउँदा पाठेघरमा समस्या देखियो । त्यसपछि उनी देशकै उत्कृष्ट मानिएको कर्णाली प्रदेश अस्पतालमा बिहीबार बिहानै पुगेर भर्ना भइन् । अस्पतालमा परीक्षण गराउँदा चार महिनाअघि सुत्केरी हुँदा पाठेघरमा सालनालका केही अंश बाँकी रहेको पाइएको चिकित्सकले बताए । चिकित्सको सल्लाह बमोजिम पाठेघर सफा गर्नुपर्ने भयो । रिजुकाको पेटमा केही महिनाको गर्भ समेत थियो । पाठेघर सफा गर्दैगर्दा केही समयपछि अस्पतालले उनलाई एक्कासी मृत घोषणा गरेको भीमाका जेठाजु हर्कबहादुर बलामीको दाबी छ ।

‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासी शव बुझ्न भनेपछि हामी त अचम्ममा पर्‍यौं,’ उनले भने, ‘हिँडेर अस्पताल गएकी भाइ–बुहारीको एक्कासी शव बुझ्नभन्दा पत्याउन सकिने कुरै भएन ।’ हर्कका अनुसार अस्पतालले बिहीबार दिउँसो ३ बजेतिर भीमालाई मृत घोषणा गरेको थियो ।

परिवारलाई भेट्नै नदिई एक्कासी रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरेको उनले जानकारी दिएका छन् । यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाको ज्यान गएको भन्दै आन्दोलन गरिरहेका छन् । ‘यो प्रदेश अस्पतालले सामान्य पेट दुखेको मान्छेलाई उपचार गर्न नसकेर मार्छ भने प्रदेश अस्पताल कसका लागि र किन,’ हर्क भन्छन्, ‘तत्काल छानबिन गरी यस्ता गैरजिम्मेवार डाक्टरलाई बर्खास्तसँगै कानुनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो।’

भीमाको मृत्युपछि अहिले अस्पताल परिसर तनावग्रस्त बनेको छ । घटना छानबिन र उचित क्षतिपूर्ति हुनुपर्ने माग आफन्तहरूले गरेका छन् । शुक्रबार बिहान १० बजेदेखि चरणबद्ध आन्दोलन तयारी आफन्तहरूले गरेका छन् । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । ‘उहाँको अवस्था गाह्रो नै थियो भन्ने रिपोर्ट छ, अपरेसन गर्दा भ्रुण फाल्नु पर्ने हुँदा त्यस क्रममा मृत्यु भएको जानकारी आएको छ,’ उनले भने, ‘अझै प्राविधिक विषयमा के भएको हो, आज हामी छलफल गर्दैछौँ ।’ कर्णाली प्रदेश अस्पताललाई देशकै उत्कृष्ट भनिए पनि सेवा प्रवाहका विषयमा भने व्यापक प्रश्न उठ्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७