राजा फर्काउनु पर्‍यो भनेर मान्छेहरु हिँड्दै छन्, म त असम्भव देख्छु : देउवा


२ बैशाख २०८१, आईतवार
deuwa

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन् ।

आज (आइतबार) काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन । ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ती राजा पनि मरे । उनका छोराछोरीहरु सबै मरे । अर्को राजा आएपछि त झन उ चाहीँ आफै गए । तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले’, उनले भने, ‘उनी पनि अहिले टिक्न नसकेर हट्नु पर्‍यो । त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनु पर्‍यो भनेर मान्छेहरु हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन ।’

उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताएका छन् । उनले विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए । सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व.थापाको महत्वपूर्ण भूमिका रहेको बताए ।

‘यो व्यवस्थालाई सुदृढीकरण गर्दै जानुपर्छ । हिजो बन्दुक उठाएकाहरु पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर आएको छ । युद्धलाई सबैले छोडेको छ’, उनले भने, ‘त्यसकारण को सरकारमा छ, को छैन भन्दा पनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यकता छ । बलियो बनाउन आवश्यकता छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७