खानेपानी कार्यालय मुगुका प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२ बैशाख २०८१, आईतवार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख राजीव रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले आयोजनाको पाँच लाख ६१ हजार ४८१ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा सोही कार्यालयका सबइन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाही छन् । आर्थिक वर्ष २०७८/७९ मा सोरु गाउँपालिका–५ मा सिँचाइ आयोजनामा निर्माण उपभोक्ता समितिका पदाधिकारी समेतको मिलेमतोमा रकम हिनामिना गरिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

उनीहरूले सोरु गाउँपालिका–५ स्थित नेर सिँचाइ आयोजनाको काम गर्दा पाँच लाख ६१ हजार ४८१ रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूसँग पाँच लाख ६१ हजार ४८१ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७