सुदूरपश्चिमबाट सत्ता गठबन्धनमा संकट

एकाएक किन रेशमको पक्षमा उभियो एकीकृत समाजवादी ?


२ बैशाख २०८१, आईतवार
gathabandhan dal

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नागरिक उन्मुक्ति पार्टीकै दुई जना सांसदले दाबी पेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी र कैलाशकुमार चौधरीले प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गरेका हुन् ।

कैलाशकुमारलाई मुख्यमन्त्रीमा नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदले समर्थन गरेका छन् । लक्ष्मणकिशोरलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले समर्थन गरेको पत्र प्रदेशप्रमुख नाजिर मियाँसमक्ष पेश भएको हो । नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी र केन्द्रीय अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठबीचको विवादका कारण सुदूरपश्चिमको मुख्यमन्त्री पदमा पार्टीबाट दोहोरो दाबी पेश भएको हो । मुख्यमन्त्रीमा दाबी पेश गर्नेमध्ये लक्ष्मणकिशोर संरक्षक रेशम पक्षधर सांसद हुन् भने कैलाशकुमार पार्टी अध्यक्ष श्रेष्ठ पक्षधर हुन् ।

एकीकृत समाजवादीले सुदूरपश्चिममा तत्काल केन्द्रबाट हस्तक्षेप नगर्ने नीति लिएको छ । सुदूरपश्चिममा केन्द्रको सत्ता गठबन्धन विपरीत नेकपा एस नाउपाको रेशम चौधरीको पक्षमा उभिएको छ । नेकपा एसले लिएको यो अप्रत्याशित निर्णयको राजनीतिलाई मात्र तरंगित बनाएको छैन, केन्द्रीय सत्ता गठबन्धनमै संकट सिर्जना गरेको छ ।

सत्ता गठबन्धनको आइतबार बालुवाटारमा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीलाई दिने निर्णय गरेको थियो । तर, त्यसप्रति नेकपा एस असन्तुष्ट थियो । जसको प्रभाव सुदूरपश्चिमको मुख्यमन्त्री दावीमा प्रकट भयो । एकाएक सत्ता गठबन्धनको नेकपा एसले सुदूरपश्चिममा कांग्रेससहितको गठबन्धन बनाएपछि अब यसले केन्द्रमा कस्तो प्रभाव पार्छ भन्ने चासोको विषय बनेको छ । नाउपाबाट दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नाजिर मियाँले दुवै पक्षसँग छलफल गरेका छन् तर निर्णय गरिसकेका छैनन् ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि नेकपा एसले एक प्रदेशमा मुख्यमन्त्री मागेको थियो । गठबन्धनमा पनि सुदूरपश्चिम प्रदेशमा दोस्रो कार्यकाल मुख्यमन्त्री दिने सहमति भएको छ । तर, नेकपा एसका प्रदेशसभाका दलका नेता दीर्घ सोडारी पहिलो पटक नै मुख्यमन्त्री हुन चाहन्थे । उनले आफू पहिलोपटक मुख्यमन्त्री हुन नपाउने भएपछि कांग्रेससहित लक्ष्मण चौधरीलाई समर्थन जनाएर केन्द्रको गठबन्धनविरुद्ध विद्रोह गरेका छन् ।

नेकपा एसले सुदूरपश्चिम प्रदेश सरकारको विषयमा केन्द्रमा सत्ता गठबन्धनका नेताहरूले कुरा फेरेको टिप्पणी गरेका छ । पार्टीका महासचिव घनश्याम भुसालका अनुसार, आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि भएको सहमतिभन्दा फरक शैलीको कुरा राखेका छन् ।

‘यसअघि नै सुदूरपश्चिम सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले लिने केन्द्रमा समझदारी थियो,’ भुसालले भने, ‘आज बिहानको छलफलमा उहाँहरू (केपी–प्रचण्ड) ले कुरा फेर्नु भयो ।’ ‘हामी यसअघि भएको समझदारीमा दृढ छौँ,’ भुसालले भन्छन्, ‘थप छलफल गर्नुपर्छ भनेर उहाँहरूले भनेपछि हामी निस्किएका थियौं । अरु केही खबर आएको छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७