सुदूरपश्चिममा गठबन्धनलाई चुनौति : नाउपाको रञ्जिता कि रेशम पक्षले पाउँला मुख्यमन्त्री ?


३ बैशाख २०८१, सोमबार
nagarik

कैलाली । सुदूरपश्चिम प्रदेशमा एकै दलका दुई जनाले मुख्यमन्त्रीमा दावी पेस गरेपछि नियुक्ति प्रक्रिया लम्बिएको छ । फरक–फरक दलको समर्थनमा नागरिक उन्मुक्ति पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुखले कानुनी परामर्श र अध्ययन गरेर मात्रै निर्णय लिने बताएका छन् ।

आइतबार नाउपाकै लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । नयाँ सत्ता गठबन्धनलाई चुनौति दिंदै कांग्रेस, नाउपा, समाजवादी र राप्रपाको समर्थनमा नाउपाका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दबी पेस गरेका छन् । उनी नाउपा संरक्षक रेशम चौधरी पक्षका हुन् ।

त्यस्तै एमाले, माओवादी, स्वतन्त्र सांसदको समर्थनमा कैलाश चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् । उनी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन् । एकै पार्टीका दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएपछि आवश्यक छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो ।
नाउपा अध्यक्ष रञ्जिता समूहका तर्फबाट कैलाश चौधरीले आफ्ना ७, नेकपा एमाले र नेकपा माओवादीका १०-१० र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी गरेर २८ सांसदको समर्थन देखाउँदै मुख्यमन्त्री दाबी पेस गरेका छन् ।

उता नाउपाको रेशम गुटका लक्ष्मणकिशोर चौधरीले पनि आफ्नो पार्टीका सातै सांसदसहित एकीकृत समाजवादीका ४ र कांग्रेसका १८ गरी २९ सांसद आफ्ना पक्षमा देखाउँदै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँ द्विविधामा परेका छन् । अहिले उनी कानुनी परामर्शमा छन्। निर्णय गर्न एक÷दुई दिन लाग्ने बताइएको छ । ‘एउटै पार्टीबाट दुई जनाको दाबी परेपछि द्विविधा छ । एउटा पक्ष कारबाही गरेको भन्छ। यसका बारेमा कानुनी परामर्श लिन्छौँ । निष्कर्षमा पुग्न एक÷दुई दिन लाग्न सक्छ,’ प्रदेश प्रमुख कार्यालय स्रोत भन्छ, ‘टाउको गन्नुपर्ने अवस्था पनि आउनसक्छ ।’

आवश्यक परे सांसदहरूको हस्ताक्षर सनाखत गर्न पनि सकिने स्रोत बताउँछ । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा पर्दै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार ढल्यो । त्यसपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ सांसद कायम छन् । नाउपाकी समानुपातिक सांसद इन्दिरा गिरीलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको अवस्थामा प्रदेश सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ । नाउपाको रेशम पक्षमा ५ सांसद कायम रहे मुख्यमन्त्रीमा लक्ष्मणकिशोरको पल्ला भारी हुने देखिन्छ । कांग्रेसका १८, एकीकृत समाजवादीका ४ र नाउपा (रेशम पक्ष) का ५ गरी कूल २७ सांसद हुन्छ । नाउपाको रञ्जिता पक्षसँग भने पार्टीका २ सांसद मात्रै छन् । सत्तारुढ एकीकृत समाजवादी कांग्रेसकै गठबन्धनमा अडिग रहे कैलाशका पक्षमा बहुमत पुग्ने अवस्था देखिन्न ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७