पर्यटकको पर्खाइमा आकर्षक गन्तव्य मुठाचौर


३ बैशाख २०८१, सोमबार
baglung

बागलुङ । वरपर घना जङ्गल । बीचमा समथर भूभाग । कतै आलु त कतै सिमी लगाइएका बारी । पाखैभरि भर्खरै अङ्कुराएका आलुबारी । आलुबारी छेउमै काठ, ढुङ्गा र माटोले बनेका चिटिक्कका मौलिक घर । यहाँ पुग्ने जोकोहीलाई यो दृश्यले आकर्षित गर्छ । यो मुठाचौरको विशेषता हो ।

तमानखोला गाउँपालिका–२ स्थित मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । पर्यटकीय क्षेत्र बराह ताल नजिकै रहेको मुठाचौरमा अघिल्लो वर्षमात्रै मोटरबाटो पुगेको छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि भयरबोङ्गा कटेरी हुँदै मुठाचौर मोटरबाटो जोडिएको हो । प्रशस्त खेतीयोग्य जमिन रहेकोले वर्षौंदेखि यहाँ घुम्ती बसाइँ हुँदै आएको छ । कृषि र पशुपालन गर्दै आएका बयरबोङ तथा कटेरी गाउँका बासिन्दा हरेक वर्ष बर्खाको मौसममा मुठाचौरमा गोठ लगेर बस्छन् । करिब एक सय घर परिवार बसोबास गर्दै आइरहेको मुठौचार क्षेत्रमा मोटरबाटो जोडिएपछि अन्य विकासका सम्भावना खुलेका छन् ।

हरेक वर्ष स्थानीयवासी पाँच महिना मुठाचौरमा बस्छन् । बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुठाचौरबाट धौलागिरि, माछापुच्छ्रे लगायतका हिमशृङ्खला नियाल्न सकिन्छ । यहाँ बेलाबखत आन्तरिक पर्यटक पुग्ने गर्छन् । अघिल्लो वर्षसम्म फाट्टफुट्ट पर्यटक आउने गरेकामा सडक जोडिएपछि पर्यटकको सङ्ख्या बढेको छ । सडकले पर्यटकलाई मात्र होइन, स्थानीयलाई समेत ठूलो राहत मिलेको छ ।

एक वर्ष अगाडि मात्रै सडक पुगे पनि विद्युत् र खानेपानीको समस्या उस्तै छ । स्थानीयवासीहरु बर्खाको मौसममा यहाँ दियालो र टुकीका भरमा बस्ने गर्छन् । मुठाचौरभन्दा केही तलको कटेरी गाउँसम्म बिजुलीको पहुँच पुगे पनि त्यसभन्दा माथि पुगेको छैन । चाँडै विद्युत् र खानेपानीको सुविधा पुग्ने आशामा स्थानीयवासी  छन् । मुठाचौर छेउमै बराह ताल रहेको हुँदा यस क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय ओम पुनले बताए । 

अहिले यो ठाउँ चरिचरन र खेतीपातीका लागि मात्रै प्रयोग हुँदै आएकाले थप विकासका पूर्वधार जोड्नसके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने उनी बताउँछन् । ‘वातावरणका हिसाबले यो ठाउँ निकै शान्त छ, हावापानी पनि स्वच्छ छ, अहिलेसम्म मुठाचौरलाई चरिचरन र खेतीपातीका रुपमा प्रयोग गर्दै आइएको छ’, पुनले भने, ‘अब यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने देखिन्छ, यति सुन्दर ठाउँ अहिलेसम्म विकासका हिसाबले निकै पछाडि परेको छ ।’

असारदेखि वरपरका गाउँलेहरु मुठाचौरमा गोठ लैजान सुरु गर्छन् । असोज कात्तिक लाग्नसाथ गाउँ झर्ने गर्दछन् । मुठाचौरमा बस्ने समयमा उनीहरु पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबाली उत्पादन गर्दछन् । सडक पुगेपछि मुठाचौरमा उत्पादित आलु, सिमी र कृषिजन्य वस्तु बजारमा ल्याउन सहज भएको स्थानीय मञ्जु रसाइलीले बताइन् । सडकका कारण पर्यटक बढ्न थालेको उहाँ बताउनुहुन्छ । हरेक नयाँ वर्षमा मुठाचौर छेउमै रहेको बराह तालमा मेला लाग्ने गर्छ । यस वर्ष अहिलेसम्मकै धेरै पर्यटक यहाँ आएको रसाइलीको भनाइ छ ।

तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बराह ताल र मुठाचौरको विकासका लागि गाउँपालिकाले योजना बनाएर काम गर्न थालेको बताइन् । मुठाचौर क्षेत्र पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएकाले विद्युत् र खानेपानीका लागि पालिकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्ने उनको भनाइ छ । बराह ताललाई पर्यटनको केन्द्र बनाई मुठाचौरमा घरबास सञ्चालन गर्ने योजना रहेको उनले बताइन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७