भिमाको शव ६ दिनदेखि अस्पतालमै : डाक्टरलाई कारबाही माग गर्दै आन्दोलनमा आफन्त

‘आठ महिनाको छोरी छ, उसले आमा खेज्छ म कहाँबाट ल्याउँ’


४ बैशाख २०८१, मंगलवार
bhima

दैलेख । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमान्दा भिमा गुरुङ बलामीको शव ६ दिनदेखि अस्पतालमै रहेको छ । दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भिमा पाठेघर सफा गर्न आफै हिंडेर कर्णाली प्रदेश अस्पताल पुगेकी थिइन् । उपचारको क्रममा भिमाको गत चैत २९ गते ज्यान गएको थियो ।

भिमाका श्रीमान नमराज बलामीले चिकित्सकको टोलीले अप्रेसनमा लापरबाही गर्दा श्रीमतीको ज्यान गएको बताए । ‘आठ महिनाको छोरी छ, उसले आमा खेज्छ म कहाँबाट ल्याउँ,’ उनले भने, ‘छोरीको पालनपोषण र शिक्षाको व्यवस्था, परिवारका एक जनालाई रोजगारी तथा उपचारमा लापरबाहही गर्नेलाई कारबाही नगरेसम्म पोस्टमार्टम गर्न दिइन्न ।’

‘उपचार गराउन जाँदा बुहारी सकुशल थियो’, जेठाजु हर्कबहादुर बलामीले भने, केहीबेरमै शंकास्पद रुपमा मृत्यु घोषणा गरियो ।’ अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अप्रेसनमा डाक्टरको लापरबाहीले ज्यान गएको भन्दै शुक्रवारबाट लगातार कारबाहीको माग गर्दै आन्दोलन भइरहेका छन् ।

अस्पताल परिसरदेखि वीरेन्द्रनगरका मुख्य मुख्य चोकमा आफन्तहरूले दिनहुँ प्रदर्शन गरिरहेका छन् । अस्पतालसँग वार्ता बसे पनि सहमति हुन सकेको छैन । जसका कारण आफन्तहरूले दुई दिन कर्णाली राजमार्ग समेत बन्द गरेका छन् । आफन्तहरूले सत्यतथ्य रुपमा छानबिन र बच्चाको हेरचाहको माग मुख्य रुपमा अघि सारेका छन् ।


उनका अनुसार भिमालाई तल्लो पेट दुख्ने र रगत बग्ने समस्यापछि उपचारमा पुर्‍याउँदा कर्णाली अस्पतालमा ज्यान गएको हो । आफ्ना मागमा अस्पताल पक्षबाट बेवास्ता गरिएको भन्दै पोस्टमार्टम गर्न पीडित पक्षले अस्वीकार गरिरहेका छन् । अस्पताल प्रशासनले लगातार वार्ता गरिरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । अस्पतालका निर्देशक डा. डम्बर खड्काले पीडित पक्षसँग छलफल भए पनि अहिलेसम्म सहमति हुन नसकेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७