सुदूरपश्चिम सरकार गठनमा अन्योल : एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !


४ बैशाख २०८१, मंगलवार
sudur paschim

धनगढी । सुदूरपश्चिममा नयाँ सरकार निर्माणबारे अन्योलता बढेको छ । आइतबार प्रदेश प्रमुख नाजिर मियाँले दिएको समयभित्र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबि पेश गरे पनि अहिलेसम्म प्रदेश प्रमुखले निर्णय लिएका छैनन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका नेता झलनाथ खनालको मंगलबार बिहान बालुवाटरमा भएको छलफलपछि नयाँ विकल्पमा जाने सम्भावना पनि बढेको छ । सोहि अनुसार सुदूरपश्चिमका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाका केहि सांसदहरुले छलफल गरेको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएर अगाडि बढ्ने विकल्पको बारेमा छलफल गरेका छन् ।

नाउपाका दुई सांसदले मुख्यमन्त्रीमा दाबि पेश गरेको अवस्थामा एकीकृत समाजवादीलाई कसरी मुख्यमन्त्री दिन सकिन्छ भन्ने कानुनी पाटो बारे अहिले छलफल भइरहेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि नेता खनालले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएमा सबै समस्याको हल हुने बताएका थिए ।

स्रोतका अनुसार प्रदेश प्रमुखले दुवै दाबीलाई रद्द गरेर नयाँ आव्हान गर्न सक्ने बताइएको छ । तर यसका लागि प्रदेस प्रमुखले दिने कानुनी आधारले प्रदेशको राजनीति अदालती झमेलामा जान सक्ने समेत विश्लेषण शुरु भएको छ । आइतबार गरिएको दाबिमा लक्ष्मणकिशोरले कांग्रेससहित २८ सांसदको समर्थन पश गरेका छन् भने कैलाश चौधरीले २३ सांसदको समर्थन सूची पेश गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७